काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्सले समर्थकलाई डिजिटल माध्यमबाट टोलीसँग जोड्ने उद्देश्यले आधिकारिक मोबाइल एपको बेटा संस्करण सार्वजनिक गरेको छ।
एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्ने एपमा खेलको लाइभ अपडेट, नतिजाको अनुमान, विभिन्न प्रतियोगिता, रिवार्ड प्वाइन्ट तथा टोलीका आधिकारिक जर्सी र सामग्री खरिद गर्न सकिने सुविधा राखिएको छ।
आईओएस प्रयोगकर्ताका लागि एपको संस्करण पनि चाँडै सार्वजनिक गरिने टोलीले जनाएको छ। एपमा खेल तालिका, नतिजा र खेलका प्रमुख गतिविधिको जानकारी दिने ‘म्याचडे सेन्टर’ समावेश छ।
यसमा खेलका तस्बिर हेर्न तथा खेल, प्रतियोगिता र आफूले गरेका अर्डरसम्बन्धी सूचना प्राप्त गर्न सकिन्छ।
त्यस्तै, ‘फ्यान जोन’ मार्फत समर्थकले खेलका क्रममा टोलीलाई समर्थन गर्दै सन्देश पठाउन, खेल हेर्दाका तस्बिर साझा गर्न र अन्य समर्थकका प्रतिक्रिया हेर्न सक्नेछन्। यसले देशभरका समर्थकलाई एउटै डिजिटल समुदायमा जोड्ने टोलीको अपेक्षा छ। एपमा समावेश ‘प्रेडिक्ट एन्ड विन’ सुविधामार्फत समर्थकले खेलको नतिजा तथा महत्त्वपूर्ण घटनाबारे अनुमान गरेर पुरस्कार जित्न सक्नेछन्।
यसबाहेक विभिन्न फ्यान कन्टेस्ट पनि सञ्चालन गरिने टोलीले जनाएको छ। क्रिकेटसम्बन्धी मिनी गेमसँगै एपमा दैनिक हिँडाइको लक्ष्य पूरा गरेर फ्यान प्वाइन्ट कमाउन सकिने सुविधा पनि छ। ‘डेली स्टेप च्यालेन्ज’ अन्तर्गत प्रयोगकर्ताले दैनिक १० हजार पाइला हिँड्ने लक्ष्य पूरा गरी अतिरिक्त प्वाइन्ट प्राप्त गर्न सक्नेछन्।
खेल खेल्दा, नतिजाको अनुमान गर्दा तथा अन्य गतिविधिमा सहभागी हुँदा जम्मा हुने प्वाइन्टका आधारमा समर्थकले ब्रन्ज, सिल्भर, गोल्ड र प्लाटिनम गरी चार तहमा आफ्नो स्तर बढाउन सक्नेछन्। प्रत्येक तहअनुसार पुरस्कार तथा अन्य सुविधा उपलब्ध गराउने व्यवस्था रहेको टोलीले जनाएको छ। एपमा रहेको अनलाइन पसलबाट विराटनगर किंग्सका आधिकारिक जर्सी तथा अन्य सामग्री खरिद गर्न सकिन्छ।
समर्थकले आफ्नो नाम र रोजेको नम्बर राखेर जर्सीलाई व्यक्तिगत स्वरूप दिन सक्नेछन्। जर्सी खरिदका लागि क्यास अन डेलिभरी र विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने तथा अर्डरको अवस्था एपबाटै हेर्न मिल्ने सुविधा छ। एपमा टोलीका समाचार, खेलाडीका कथा तथा अन्य गतिविधिसम्बन्धी जानकारीसमेत उपलब्ध हुनेछ।
प्रयोगकर्ताले गुगल, एप्पल वा इमेलमार्फत लगइन गरी आफ्नो प्रोफाइल र सूचना व्यवस्थापन गर्न सक्नेछन्। एप सार्वजनिक गरेको अवसरमा विराटनगर किंग्सले ‘भेरिफाइड फ्यान’ कार्यक्रममार्फत सयौं प्रयोगकर्तालाई जर्सी र खानाका भौचर उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ। त्यसका लागि समर्थकले एपको आधिकारिक समुदायमा आबद्ध भई आफ्नो खाता प्रमाणीकरण गर्नुपर्नेछ। त्यसपछि उनीहरूले प्रचारात्मक गतिविधिमा सहभागी भएर पुरस्कार जित्ने अवसर पाउनेछन्। बेटा संस्करण सार्वजनिक गरेको टोलीले समर्थकको सहभागिता बढाउने, प्रयोगकर्ताबाट सुझाव लिने र एपमा थप सुविधा समावेश गर्दै जाने लक्ष्य राखेको जनाएको छ।