एनपिएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : अध्यक्ष धिमिरे

  • Image नेप्लेज
  • २ कार्तिक २०८३, सोमवार
  • 224 पटक हेरिएको
एनपिएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : अध्यक्ष धिमिरे

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले नेपाल प्रिमियर लिग (एनपिएल) लाई औपचारिक मान्यता दिएको निर्णयलाई कर्णाली याक्सले स्वागत गर्दै यसलाई नेपाली क्रिकेटको विकासका लागि ऐतिहासिक उपलब्धि भनेको छ ।

कर्णाली याक्सका अध्यक्ष ग्रिहेन्द्र घिमिरेले सोमबार एक वक्तव्य जारी गर्दै आईसीसीको यो मान्यताले नेपाली क्रिकेटको समग्र विकास, विस्तार र घरेलु प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

आईसीसीको मान्यताले एनपिएलमा आबद्ध खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको एक्सपोजर (अनुभव) मिल्नेछ भने क्लबहरूलाई थप अनुशासित, जिम्मेवार र अन्तर्राष्ट्रिय मापदण्डतर्फ प्रेरित गर्न यो निर्णय कोसेढुंगा सावित हुनेछ, वक्तव्यमा भनिएको छ। यसैगरी, आईसीसीको मान्यता खेलाडी, व्यवस्थापकका साथै लगानीकर्ता र निजी क्षेत्रका लागि ठूलो सुरक्षाको ग्यारेन्टी भएको अध्यक्ष घिमिरेको भनाइ छ।यसले नेपालका विभिन्न प्रदेशका खेलाडीहरूलाई आफ्नो कार्यदक्षता र प्रतिभा प्रदर्शन गर्न अझ बढी हौसला मिल्ने र समग्र क्रिकेट जगतको भविष्यलाई नयाँ मार्गचित्र दिने उनले उल्लेख गरेका छन् ।

यसअघि अन्तर्राष्ट्रिय टेस्ट राष्ट्रका खेलाडी भित्र्याउन निश्चित कोटा र गोलाप्रथा प्रणालीका कारण टिमहरूले चाहेका खेलाडी भित्र्याउन असहज अवस्था रहेको स्मरण गराउँदै अब त्यो सीमितता हटेको वक्तव्यमा जनाइएको छ।

टिमहरूले चाहेका उत्कृष्ट टेस्ट खेलाडी भित्र्याउने बाटो खुलेकाले क्लबहरूबीच स्वच्छ र प्रभावकारी प्रतिस्पर्धा हुने विश्वास लिइएको छ।

नेपाली राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएकोमा अब एनपिएल जस्ता लिगमार्फत पनि नेपाली क्रिकेट अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्दा समग्र खेल पर्यटनको प्रवद्र्धन हुने र नेपालको क्रिकेट यात्रामा नयाँ उचाइ थपिने कर्णाली याक्सले जनाएको छ।


#क्रिकेट #एनपीएल #टी-ट्वान्टी