काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा सन् २००७ को आईसीसी पुरुष टी-२० विश्वकप विजेता इरफान पठानलाई आफ्नो आधिकारिक क्रिकेट एम्बासडर नियुक्त गरेको छ ।
एनपीएलको तेस्रो सिजन सुरु हुनुअघि पोखरा एभेन्जर्सले शुक्रबार पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो।
अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएका पठानको अनुभव, विरासत र क्रिकेटप्रतिको लगावले टोलीको पहिचान तथा लोकप्रियता थप विस्तार गर्न सहयोग पुग्ने विश्वास फ्रेन्चाइजले लिएको छ ।
भारतका पूर्व बायाँहाते तीव्र गतिका बलर तथा अलराउन्डर पठान सन् २००७ मा भारतले पहिलो पटक आईसीसी पुरुष टी-२० विश्वकपको उपाधि जित्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए। बलिङ र ब्याटिङ दुवैमा योगदान दिन सक्ने क्षमताका कारण उनले अन्तर्राष्ट्रिय क्रिकेटमा विशेष पहिचान बनाएका थिए ।
४१ वर्षीय पठानले भारतका लागि २९ टेष्ट, १२० ओडिआई र २४ टि२०आई खेल खेलेका छन् । उनले टेष्टमा १ शतक मदतमा १ हजार १०५ रन बनाएका छन् १०० विकेट लिएका छन् । यस्तै ओडिआईमा १ हजार ५४४ रन बनाउँदा १७३ विकेट लिएका छन् ।
टी-२०आईमा भने उनले १७२ रन बनाएका छन् भने २८ विकेट लिएका थिए। पठानको नियुक्तिसँगै पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो सिजनमा आफ्नो ब्रान्ड पहिचान र क्रिकेट समर्थकसँगको सम्बन्धलाई थप बलियो बनाउने लक्ष्य राखेको छ।
उनको अन्तर्राष्ट्रिय अनुभव र लोकप्रियताले नेपाली क्रिकेटप्रति विश्व क्रिकेट समुदायको चासो बढाउनसमेत मद्दत पुग्ने अपेक्षा गरिएको छ। पोखरा एभेन्जर्सले विश्व विजेता पठानलाई नेपाल तथा आफ्नो टोलीमा स्वागत गर्दै नयाँ भूमिकाका लागि शुभकामना व्यक्त गरेको छ ।
एनपीएलको तेस्रो संस्करणको तयारी गरिरहेको पोखरा एभेन्जर्सले यस सिजन मुख्य प्रशिक्षकमा श्रीलंकन पूर्व स्टार स्पीनर अजन्था मेन्डिस र विदेशी खेलाडीमा बंगलादेशी चर्चित अलराउण्डर शकिब अल हशनलाई नियुक्त गरिसकेको छ। मेन्डिसले नेपाल आएर टिमलाई प्रशिक्षण दिन सुरु गरिसकेका छन्। श्रीलंकाका अलराउन्डर धनञ्जय लक्षणलाई भने लगातार दोस्रो सिजन टोलीमा निरन्तरता दिएको छ ।
क्रिकेट एम्बासडरमा विश्वविजेता इरफान पठान नियुक्त भएपछि पोखराको चर्चा अझ बढेको छ । पोखराले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई निरन्तरता दिएको छ। यस्तै अक्सनमार्फत अर्जुन घर्ती मगर, विवेक रानामगर, सुदीप अर्याल, सन्नी बीके, विपिन आचार्य र प्रतीक पोखरेललाई टोलीमा आबद्ध गरेको छ ।
स्थानीय प्रतिभाको पहिचानदेखि अनुभवी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको संयोजनसम्मलाई प्राथमिकता दिँदै पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणका लागि बलियो टोली निर्माण गर्दै उपाधि जित्ने लक्ष्य लिएको छ ।