काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. २३ को आयोजनामा सञ्चालन भइरहेको चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा वडा नं. २१, ४, ६ र १३ विजयी भएका छन्।
प्रतियोगिताको तेस्रो दिन शनिबार चार खेल सम्पन्न भएका हुन्। पहिलो खेलमा काठमाडौं महानगरपालिका केन्द्र र वडा नं. २१ बीच प्रतिस्पर्धा भएको थियो।
काठमाडौं महानगरपालिका केन्द्रका प्रकाश सुवेदीले आत्मघाती गोल गरेपछि वडा नं. २१ ले १–० को जित निकालेको हो। खेलमा वडा नं. २१ का अनिकेत देउला म्यान अफ द म्याच घोषित भए। दोस्रो खेलमा वडा नं. ४ ले वडा नं. १९ लाई ३–१ गोलले पराजित गर्यो।
पहिलो हाफमा विनय गर्तौलाको गोलबाट अग्रता लिएको वडा नं. ४ का लागि दोस्रो हाफमा अर्ग रेग्मी र असिम गुरुङले एक–एक गोल थपे। वडा नं. १९ का पियुष श्रेष्ठले एक गोल फर्काए। यस खेलमा वडा नं. ४ का अग्रिम भण्डारी म्यान अफ द म्याच घोषित भए। तेस्रो खेलमा वडा नं. ६ ले वडा नं. २ लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्यो। वडा नं. ६ का संयम घिमिरेले दुई गोल गरे भने दिपेश श्रेष्ठ र आशिष लामाले एक–एक गोल थपे। यस खेलमा वडा नं. ६ का संयम घिमिरे म्यान अफ द म्याच घोषित भए।
दिनको चौथो तथा अन्तिम खेलमा साविक विजेता वडा नं. १३ ले वडा नं. २२ लाई ५–० गोलले पराजित गर्यो। पहिलो हाफमै तीन गोलको अग्रता बनाएको वडा नं. १३ का लागि अभय राणाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सम्पूर्ण केसीले पेनाल्टीमार्फत दोस्रो गोल गरे। आशिष कपालीले पहिलो र दोस्रो हाफमा एक–एक गोल गरे भने अभय राणाले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको जित ५–० ले सुनिश्चित गरे। यस खेलमा वडा नं. १३ का अभय राणा म्यान अफ द म्याच घोषित भए।