डिफेन्डिङ च्याम्पियनमाथि प्रभावशाली जित निकाल्दै न्यु रोड टिम (एनआरटी) तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
पथरीशनिश्चरे रंगशालामा आइतबार भएको खेलमा एनआरटीले गत संस्करणको विजेता सलहेस फुटबल क्लबलाई ३-० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
उपाधि जोगाउने लक्ष्यसहित मैदानमा उत्रिएको सलहेसले अपेक्षाकृत खेल प्रदर्शन गर्न नसक्दा एनआरटीले सुरुदेखि नै दबाब बनाएको थियो। खेलको १०औँ मिनेटमै एनआरटीका लागि सलहेसका निग्मा घिसिङबाट आत्मघाती गोल भएपछि एनआरटीले १-० को अग्रता लियो।
प्रारम्भमै गोल खाएपछि सलहेसले खेलमा फर्किने प्रयास गरे पनि एनआरटीको रक्षापंक्ति तोड्न सकेन। एनआरटीले बलमाथि नियन्त्रण राख्दै सलहेसको आक्रमण विफल पार्ने र अवसर पाएलगत्तै तीव्र प्रत्याक्रमण गर्ने रणनीति अपनायो। पहिलो हाफ १-० को स्थितिमै सकियो।
दोस्रो हाफमा सलहेसले बराबरीका लागि आक्रामक खेल प्रस्तुत गरे पनि एनआरटीका गोलरक्षक विशाल सुनार बाधक बने। सलहेसका केही उत्कृष्ट प्रहारलाई विफल पार्दै सुनारले एनआरटीको अग्रता सुरक्षित राखे।

खेलको ८०औँ मिनेटमा कृष्णबहादुर आलेले गोल गर्दै एनआरटीको अग्रता २-० बनाए। यस गोलसँगै सलहेसको खेलमा फर्किने सम्भावना कठिन बनेको थियो।
त्यस्तै, इन्जुरी समयको दोस्रो मिनेट (९०+२ मिनेट) मा सुदीप श्रेष्ठले थप एक गोल गर्दै एनआरटीको ३-० को फराकिलो जित पक्का गरे। यस जितसँगै साविक विजेता सलहेसको उपाधि रक्षा गर्ने यात्रा पहिलो खेलमै रोकिएको छ।
खेलपछि एनआरटीका प्रशिक्षक श्याम मालीले टोलीले धैर्यताका साथ खेलेकाले जित सम्भव भएको बताए। ‘अन्तिम समयमा भएका गोलले जित पक्का गर्न सहज भयो। अब सेमिफाइनलमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य छ,’ उनले भने।
शानदार बचाउ गर्दै टोलीलाई क्लिन सिट दिलाएका एनआरटीका गोलरक्षक विशाल सुनार खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए।
आयोजक पथरी ११ सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहेको प्रतियोगितामा साविक विजेता नै बाहिरिएपछि उपाधि भिडन्त थप रोचक र खुला बनेको छ। प्रतियोगिताअन्तर्गत सोमबार झापा-११ र थ्री स्टार क्लब ललितपुरबीच प्रतिस्पर्धा हुनेछ।