प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल सुरु

  • Image नेप्लेज
  • २२ आश्विन २०८३, बिहिवार
  • 55 पटक हेरिएको
प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल सुरु

काठमाडौं, असोज २२ । काठमाडौं महानगरपालिका २३ वडाको आयोजनामा चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता आजबाट सुरु भएको छ ।

प्रतियाेगिताकाे उद्घाटन खेलमा काठमाडौं महानगरपालिका केन्द्रको टोलीले आयोजक २३ वडालाई २–१ गोलले पराजित गरेको छ । कामपा केन्द्रको लागि एक गोल प्रकाश सुवेदीले गरे भने एक गोल आत्मघाती रुपमा पाएको थियो । २३ वडाको लागि एलिश श्रेष्ठले एक गोल गरे । यस खेलमा कामपा केन्द्रका गोलकिपर सन्तोष घिमिरे प्लेयर अफ दि म्याच भए ।

प्रतियोगिता अन्तर्गत आजै भएको दोस्रो खेलमा ६ वडाले ३ वडा ५–० ले पराजित गरेको छ । ६ वडाका लागि संयम घिमिरे र केशव भण्डारीले दुई दुई गोल गरे भने नाम्दो स्याङबोले एक गोल गरे । यसमा दुई गोल गरेका संयम घिमिरे प्लेयर अफ दि म्याच घोषित भए ।

पहिलो दिनको अन्तिम खेलमा २२ वडाले २७ वडालाई ४–२ गोलको अन्तरले पराजित गर्यो । २२ वडाको जीतको लागि शीर्षक तुलाधरले २ गोलको योगदान दिएभने प्रताप वज्राचार्य र राजीव महर्जनले एक एक गोल गरे । २७ वडाको लागि रविन्द्र श्रेष्ठले दुई गोल गरेका थिए । खेलमा शीर्षक तुलाधर प्लेयर अफ दि म्याच भए ।

प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार पहिलो खेल २० वडा र २८ वडा बीच, दोस्रो खेल १६  वडा र१८ वडा बीच र अन्तिम खेल १४ वडा र १२ वडा बीच हुनेछ ।  नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपैयाँ प्रदान गरिनेछ भने उपविजेता टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी व्यक्तिगततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दश हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।

प्रतियोगितामा काठमाडौं महानगरपालिका केन्द्रको टोलीसहित १, २, ३, ४, ५, ६, ११, १२, १३, १४, १५, १६, १८, १९, २०, २१, २२, २३, २६, २७, २८ र २९ वडा गरि २३ वटा टिमको सहभागिता रहेको छ । फुटसलको उद्घाटन गर्दै कामपा २३ वडाका अध्यक्ष मचाराजा महर्जनले महानगरभित्र लुकेर बसेका प्रतिभालाई अगाडी ल्याउन काठमाडौं महानगरपालिकाका पूर्वमन्त्री तथा समाजसेवी प्रयागराज सिंह सुवालको स्मृतिमा अन्तर वडा फुटसल प्रतियोगिताको आयोजना गर्दै आइरहेको बताए। पूर्वमन्त्री सुवाल २३ वडाका बासिन्दा थिए।