काठमाडौंमा धुमामधामका साथ मनाइयो थारु समुदायको जितिया पर्व

  • Image नेप्लेज
  • १८ आश्विन २०८३, आइतवार
  • 44 पटक हेरिएको
काठमाडौंमा धुमामधामका साथ मनाइयो थारु समुदायको जितिया पर्व

काठमाडौं। थारु समुदायको माहान पर्व जितिया शनिबार काठमाडौंमा विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरी धुमधामका साथ मनाइएको छ। विशेषगरी पूर्वेली थारु समुदायमा प्रचलित यस पर्वलाई काठमाडौंमा थारु समुदायका विभिन्न संघ–संस्थाले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी मनाएका हुन्।

काठमाडौंमा थारु महिला सभाले नेपाल पर्यटन बोर्डको हलमा, थारु महिला समाजले खुमलटारमा तथा थारु सांस्कृतिक मञ्चले कुपण्डोलस्थित बागमती नदी किनारको खुला चौरमा जितिया पर्व मनाएका थिए।

जितिया विशेषगरी माइतीमा आएर मनाउने परम्परा रहेको छ। पर्व सुरु हुनुअघि नै दाजुभाइले दिदीबहिनीलाई माइती ल्याउने चलन थारु समुदायमा रहिआएको छ। तर पछिल्लो समय विभिन्न सिलसिलामा घरभन्दा बाहिर बसोबास गर्ने थारु समुदायले आफू रहेको स्थानमै समूह बनाएर जितिया मनाउने गरेका छन्। नेपालबाहेक अमेरिका, अस्ट्रेलिया, युरोपेली मुलुक, दुबई, कतार र मलेसियालगायतका देशमा रहेका थारु समुदायले पनि जितिया पर्व मनाउँदै आएका छन्।

सन्तानको दीर्घायु, सुख, समृद्धि र उज्ज्वल भविष्यको कामना गर्दै महिलाहरूले निराहार व्रत बस्ने यस पर्वको पहिलो दिनलाई ‘ओट्घन’ भनिन्छ। ओट्घनका दिन दही, च्युरा, फलफूल, मिठाई, ओलको तरकारीलगायत विभिन्न परिकार दरका रूपमा खाने चलन छ।

त्यसको भोलिपल्ट व्रत बसेर जितमाहान अर्थात् जिमुतवाहनको पूजा गरिन्छ। जितिया कथा सुन्ने, विधिपूर्वक पूजाआजा गर्ने तथा नाचगानसहित पर्व मनाउने परम्परा रहेको छ। व्रतको अन्तिम दिन बिहानै नदी, खोला वा जलाशयमा गएर स्नान गरी घिरौलाको पातमा खरि, माटो, घिरौलाको फूल, पान, सुपारी, बौटरा लगायतका पूजासामग्री राखेर पूजा गर्ने र पारण गर्ने चलन छ।

जितिया पर्वमा महिलाहरूले कठिन र लामो व्रत बस्ने भएकाले थारु समुदायमा यसको विशेष धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ। पुस्तौंदेखि चलिआएको यस पर्वले थारु समुदायको मौलिक संस्कृति, पारिवारिक सम्बन्ध, धार्मिक आस्था र सामाजिक एकतालाई समेत जोड्दै आएको छ।