काठमाडौं । बंगलादेशी क्रिकेटर शकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) का बाँकी खेल नखेल्ने भएका छन् ।
एनपीएलको तेस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट सहभागी भएका शकिबले तीन खेल खेलेका थिए । तर, यूएईमा आयोजना हुने अबुधाबी टी–१० लिगमा सहभागी हुनुपर्ने भएपछि उनले एनपीएलका बाँकी खेल गुमाउने भएका हुन् ।
टी–१० लिगमा उनी युनाइटेड टाइगर्समा अनुबन्धित छन् । टी–१० लिगमा सहभागी हुन उनी यूएई गइसकेका छन् । त्यसैले शुक्रबार भएको खेलमा पनि उनी अनुपस्थित थिए ।
शुक्रबार पोखरा चितवन राइनोजसँग ३० रनले पराजित भएको थियो । पोखराले एनपीएलमा लगातार चार खेलमा हार व्यहोरेको छ ।
अब लिग चरणमा पोखराले तीन खेल खेल्न बाँकी छ । बाँकी तीनै खेल जिते पनि प्लेअफमा पुग्न अन्य टोलीको नतिजामा निर्भर हुनुपर्नेछ । ु