क्रिस गेलको कीर्तिमान तोड्दै प्रिटोरियसको विश्व कीर्तिमान

  • Image नेप्लेज
  • १८ आश्विन २०८३, आइतवार
  • 156 पटक हेरिएको
क्रिस गेलको कीर्तिमान तोड्दै प्रिटोरियसको विश्व कीर्तिमान

काठमाडौं । दक्षिण अफ्रिकाका युवा ब्याटर लुआन-ड्रे प्रिटोरियसले पुरुष ट्वान्टी–२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाउने क्रिस गेलको कीर्तिमान तोडेका छन्।

सीएसए ट्वान्टी–२० च्यालेन्जअन्तर्गत नाइट्सविरुद्ध टाइटन्सका लागि खेल्दै २० वर्षीय प्रिटोरियसले ७९ बलमा अविजित १८८ रन बनाए। उनको विस्फोटक इनिङ्समा १५ चौका र १३ छक्का समावेश थियो।

प्रिटोरियसले २४ बलमा अर्धशतक पूरा गरेका थिए। त्यसपछि थप १६ बलमा शतक पूरा गर्दै उनले ५८ बलमै १५० रनको आँकडा पार गरेका थिए। उनको स्ट्राइक रेट २३७.९७ रह्यो।

यसअघि पुरुष ट्वान्टी–२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान क्रिस गेलको नाममा थियो। गेलले सन् २०१३ को आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरका लागि पुणे वारियर्सविरुद्ध १७५ रनको अविजित इनिङ्स खेलेका थिए।

प्रिटोरियसको १८८ रनको मद्दतमा टाइटन्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २६७ रन बनायो। जवाफमा नाइट्स १७.२ ओभरमा १४३ रनमै अलआउट भयो।

नाइट्सलाई १२४ रनले पराजित गर्दै टाइटन्सले शानदार जित हात पार्दा प्रिटोरियसको ऐतिहासिक इनिङ्स खेलको मुख्य आकर्षण बन्यो।