गुजरात जीएम चेसमा पुरुषोत्तम सिलवाल उत्कृष्ट दोस्रो विदेशी खेलाडी घोषित

  • Image नेप्लेज
  • २५ जेठ २०८३, सोमवार
  • 2984 पटक हेरिएको
गुजरात जीएम चेसमा पुरुषोत्तम सिलवाल उत्कृष्ट दोस्रो विदेशी खेलाडी घोषित

भारतको अहमदाबादमा जुन १ देखि ८, २०२६ सम्म सम्पन्न चौथो गुजरात इन्टरनेशनल ओपन ग्रान्डमास्टर्स चेस प्रतियोगिता (क्याटेगोरी ‘ए’) मा नेपालका क्यान्डिडेट मास्टर (सीएम) पुरुषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गरेका छन्।

१० चरणको कडा प्रतिस्पर्धामा ६ अंक जोड्दै सिलवाल प्रतियोगिताको उत्कृष्ट दोस्रो विदेशी खेलाडी घोषित भएका हुन्। यो सफलतासँगै उनले १६ हजार नेपाली रुपैयाँ नगद पुरस्कार समेत हात पारेका छन्। उक्त विधामा उज्वेकिस्तानका सीएम कमत्याकुभोज मिराज उत्कृष्ट प्रथम र स्कटल्याण्डका सीएम बोग्गारापु कृतन तेस्रो विदेशी खेलाडी घोषित भए।

नेपाली राष्ट्रिय उपविजेता सिलवालले प्रतियोगिताको सुरुवाती खेलमै ११औँ वरीयताका रुसी ग्रान्डमास्टर (जीएम) सभचेन्को बोरिसलाई स्तब्ध पार्दै सानदार सुरुवात गरेका थिए। पराजित भएका रुसी जीएम बोरिस भर्खरै ओडिसामा सम्पन्न कीट अन्तर्राष्ट्रिय चेस प्रतियोगिताका विजेता समेत हुन्।

सिलवालले आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै रसियन जीएम बोरिस (२४७८) का साथै स्कटल्याण्डका सीएम बोग्गारापु कृतन (२१९७), भारतका नागा वेङ्कटा (१९३९) र पल्किन कौर (१८८०) लाई पराजित गर्न सफल भए। यसैगरी, उनले स्लोभाकियाका जीएम मानिक मिकुलास (२३०१), भारतीय एफएम आर्नभ अग्रवाल (२२३८), एफएम अंकित राय (२२३०) र सीएम शेर्ला प्रथमेश (२११८) सँग बराबरी खेल्दै महत्त्वपूर्ण अंक जोडे। उनी आफूभन्दा उच्च वरीयताका इजरायली इन्टरनेशनल मास्टर (आईएम) लेभिन गाई (२४८७) र भारतका एफएम सिद्धान्त गवाई (२२८१) सँग भने पराजित हुन पुगे।

ग्रान्डमास्टर स्तरको यस स्पर्धामा पुरुषोत्तमको प्रदर्शन रेटिङ २२९७ रह्यो, जुन नेपाली चेसका लागि निकै ठुलो सफलता हो। प्रतियोगितामा १६२औँ स्थानबाट खेल सुरु गरेका उनले ६८औँ स्थानमा रहँदै खेल टुङ्ग्याए। यस क्रममा उनले आफ्नो २०३८ को सुरुआती रेटिङमा १२४ अंक थप्न सफल भएका छन्।

यसअघि ओडिसामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पनि ८० रेटिङ बढाएका पुरुषोत्तमले गुजरातमा थप १२४ रेटिङ बढाउँदै आफ्नो लाइभ रेटिङ २२३८ पुर्‍याएका छन्। कुल ३०६ जना खेलाडीहरूको सहभागिता रहेको यस प्रतियोगितामा नेपाल, भारत, अमेरिका, रुस, इजरायल, स्लोभाकिया, फिलिपिन्स र आर्मेनियासहित २३ राष्ट्रको सहभागिता थियो।

प्रतियोगिताको मुख्य उपाधि इजरायलका आईएम बेनी आइजेन्बर्ग (२४६६) ले ८ अंकसहित जिते भने भियतनामका आईएम गुयेन क्वोक हाइ (२४२२) दोस्रो र भारतका जीएम अभिजित गुप्ता (२५४०) तेस्रो स्थानमा रहे। यस्तो उच्चस्तरीय प्रतियोगितामा नेपाली खेलाडीले उल्लेखनीय रेटिङ वृद्धि गर्नु नेपाली बुद्धिचाल क्षेत्रकै लागि उत्साहजनक उपलब्धि रहेको प्रवक्ता ताम्राकारले जनाएका छन्।