काठमाडाैं। दोस्रो काठमाडौं–१० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगितामा धिरेन राईले ६ अकंसहित अग्रता कायम गरेका छन् । स्विस लिग प्रणालीमा नौ चरणमा आयोजना हुने सो प्रतियोगिताको पहिलो दिन ६ चरणका खेल सम्पन्न भए । धिरेनले ६ खेलमा नै सफलता पाए ।
काठमाडौं महानगरपालिका–१० को आयोजनामा नयाँ बानेश्वरमा प्रतियोगिता भएको हो । प्रतियोगितामा २ सय २० खेलाडीको सहभागिता छ । प्रतियोगिताको उपाधि विजेताले २६ हजार २ सय ५० तथा उपविजयजीले २२ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन्।
तेस्रो हुनेले १८ हजार तथा चौथो हुनेले ११ हजार २ सय ५० रुपैयाँ पुरस्कार पाउने छन् । पाँचौँ देखि १० औ स्थान पाउनेले ७ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिताको आयोजक वडाका सचिव सुबोध खड्का तथा प्रतियोगिता निर्देशक इन्द्र कुमार बस्नेतले संयुक्त रूपमा उद्घाटन गरे । सो अवसरमा बोल्दै बस्नेतले प्रतियोगिताले नेपाली बुद्धिचाललाई नयाँ आयाम दिने विश्वास रहेको बताए ।