"वार्षिक १५-२५ करोड बजेट बिना भलिबल जोगिँदैन!"
-
नेप्लेज
- |
- २०८२-०७-१५
- |
- 159 पटक हेरिएको
नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्र बहादुर चन्दले व्यक्त गरेको मन्तव्य ।
काबा अन्डर १९ (CAVA U-19) फेयरवेल कार्यक्रमका प्रमुख अतिथि, नवनियुक्त माननीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता ज्यू; राष्ट्रिय महिला सिनियर र जुनियर टोलीको जर्सीमा लोगो राखेर संघलाई सहयोग गर्नुहुने इम्पेरियल सेक्युरिटी प्राइभेट कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सीताराम अधिकारी ज्यू; नेपाल भलिबल संघका उपाध्यक्षहरू, सचिवहरू, राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक जगदीश प्रसाद भट्ट ज्यू; संघका सदस्यहरू र विभिन्न क्लब तथा संघसंस्थाबाट पाल्नुभएका सम्पूर्ण प्रतिनिधि ज्यूहरू,
नेपाली राष्ट्रिय भलिबल टिमका हेड कोच भरत यादव ज्यू, रुपेश बिष्ट ज्यू लगायत आदरणीय पत्रकार मित्रहरू, यहाँहरू सबैलाई यस कार्यक्रममा म स्वागत तथा धन्यवाद व्यक्त गर्न चाहन्छु ।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता ज्यूको सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु । उहाँले पाँचदेखि सात मिनेट बोल्नुभयो, तर सान्दर्भिक कुराहरू बोलेर जानुभयो । एउटा भनाइ छ— काम गर्ने मान्छे धेरै बोल्दैन, काम गरेर देखाउँछ; गफ गर्ने मान्छेले काम गर्दैन । मन्त्रीज्यू मलाई त्यस्तै लाग्नुभयो । हामी नेपालीहरू गफ धेरै गर्छौं, त्यसैले आज हाम्रो देश आर्थिक रूपमा विश्व मानचित्रमा गरिब राष्ट्रको सूचीमा छ ।
मलाई लाग्छ, अहिले नेपालमा जुन राजनीतिक परिवर्तन भएको छ, नयाँ सरकार गठन भएको छ, र बब्लु गुप्ता जस्ता मन्त्रीले नेतृत्व लिनुभएको छ, अब खेलकुदका पानाहरू पनि पल्टिनेछन् भन्ने आभास भएको छ ।
म नेपाल भलिबल संघको अध्यक्ष र पूर्व भलिबल खेलाडी भएको नाताले भलिबल खेलकै बारेमा केन्द्रित हुन चाहन्छु । भलिबलमा इन्डोर (हल) र बीच (बालुवा) भलिबल गरी दुई प्रकार हुन्छन् । साथै, अन्डर १६, १८, १९, २३ र सिनियर जस्ता उमेर समूहका खेलहरू पनि हुन्छन् ।
खेलकुदमा लगानी बढाउन सीएसआर अनिवार्य गर्ने मन्त्री गुप्ताको प्रतिवद्धता
मन्त्रीज्यू, सन् २०१९ मा साउथ एसियन गेम्स (SAG) भएपछि २०२५ भइसक्दा पनि अर्को संस्करण हुन सकेको छैन । अन्तर्राष्ट्रिय प्रतियोगिताको कुरा गर्दा, नेपाल भलिबल संघको स्थापना २००३ सालमा भए पनि अहिलेसम्म उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा सरकारको सहयोगमा सहभागी भएको थिएन । आज नेपाल भलिबल संघले व्यक्ति विशेष र इम्पेरियल सेक्युरिटी जस्ता निजी कम्पनीहरूसँग सहयोग लिएर राष्ट्रिय टिमलाई प्रशिक्षण गराउने र उमेर समूहका प्रतियोगितामा सहभागी गराएर भलिबललाई जोगाउने प्रयत्न गरेको छ ।
हाम्रो कार्यसमिति चयन भएको तीन वर्ष भयो । संघहरूमा पदाधिकारीहरू के खान आउँछन् भन्ने प्रश्न उठ्ने गर्छ, तर इतिहासले तपाईंको कार्यकालमा भएको कामको हिसाबकिताब राख्छ । विगत तीन वर्षमा हामीले भलिबल टिमलाई विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरेर अगाडि बढाएका छौँ ।
सरकारको वार्षिक ९/१० लाख रुपैयाँको सहयोगले भलिबल विकास हुन सक्दैन । क्रिकेट र फुटबललाई अन्तर्राष्ट्रिय संस्थाबाट राम्रो वित्तीय सहयोग आउँछ, तर भलिबललाई खासै सहयोग आउँदैन । कुनै पनि खेलको फाउन्डेसन भनेको उमेर समूह हो । यसमा ध्यान दिनुपर्छ भनेर हामीले यो टिम तयार गर्यौं । कुमार राई सरको नेतृत्वमा लास्ट इयर अन्डर २० मा ब्रोंज मेडल प्राप्त गरेका थियौँ । यसपालि पनि टिम राम्रो तयारीमा छ र मलाई विश्वास छ, टिम खाली हात आउने छैन ।
अन्तर्राष्ट्रिय रूपमा वर्षमा काबा र एशियन च्याम्पियनसिपका गरी करिब २० वटा प्रतियोगिता हुन्छन् । एउटा प्रतियोगितामा सहभागी हुन ४० देखि ५० लाख (आयोजकले लजिङ/फुडिङ सब्सिडी दिए पनि ३० लाख) खर्च हुन्छ । त्यसैले, बीच भलिबल लगायत सम्पूर्ण टिम प्रशिक्षण र अन्तर्राष्ट्रिय सहभागिताका लागि नेपाल भलिबल संघलाई वार्षिक १५ देखि २५ करोड रुपैयाँको आवश्यकता पर्छ ।
हामीले व्यक्तिगत पैसा र समय खर्च गरेर काम गरिरहेका छौँ । यदि वर्तमान कार्यसमितिले जस्तै भविष्यमा काम नगरेमा, विगत तीन वर्षका उपलब्धिहरू शून्य हुन सक्छन् ।
काभा यु–१९ च्याम्पियनसिपका लागि नेपाली महिला भलिबल टिमको विदाई
मन्त्रीज्यूले गर्नुभएको दुई कुराले मेरो मन छोयो:
१. सीएसआर रकम खेलकुदमा अनिवार्य गर्ने पहल: कम्पनीहरूलाई सीएसआर अन्तर्गत खेलकुदमा अनिवार्य खर्च गर्न पाउने प्रावधान नहुँदा प्रायोजक जुटाउन कठिन भएको छ । मन्त्रीज्यूको यो पहलले भलिबल संघलाई स्पोन्सरसिप पाउन सहज हुनेछ ।
२. राष्ट्रिय खेलको लागि कोर्ट: २०७४ सालमा राष्ट्रिय खेल घोषणा भएको आठ वर्षसम्म पनि भलिबलको आफ्नै कोर्ट छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हाताभित्र खाली जग्गामा वा मन्त्रीज्यूले कुरा उठाउनुभएको लाजिम्पाट क्षेत्रको जग्गामा कभर्ड हलसहितको भलिबलको उत्कृष्टता केन्द्र (Excellence Center) बनाउनु अत्यन्तै सकारात्मक कदम हो । यो भलिबलको साथै अन्य खेलका लागि पनि उपयोगी हुनेछ ।
मन्त्रीज्यू, हामीले अहिले श्रीलङ्का भलिबल फेडेरेसनले बस्न र खान निःशुल्क गरिदिएका कारण टिम पठाउन सकेका छौँ । अन्यथा प्रतिव्यक्ति $७० तिर्नुपर्थ्यो, जसले गर्दा $१३,००० खर्च लाग्थ्यो । खेलाडीहरूको ४५ दिने प्रशिक्षणका लागि कुमार राई सरले न्यू डायमण्डमा बास मिलाउनुभयो र बाहिरका खेलाडीलाई थकाली होटलमा राखेर राखेपको क्यान्टिनमा डाइटको व्यवस्था गरियो । केल्मीले ड्रेस उपलब्ध गरायो भने इम्पेरियल सेक्युरिटीले वरिष्थ र जुनियर महिला टिमको लोगो प्रयोजनबापत वार्षिक २० लाख रुपैयाँ सहयोग गरेको छ । यसरी संघ अहिले काम चलाइरहेको अवस्था मा छ ।
हाम्रो लक्ष्य ओलम्पिकमा ग्रुप गेममा छनोट हुनु हो, र महिला भलिबलमा त्यो सम्भावना छ । त्यसका लागि एसियन च्याम्पियनसिपको टप सिक्सभित्र पर्न लगानी चाहिन्छ ।
आज कुमार राई सरले कोचको काम मात्र होइन, टिमका लागि ७ लाख रुपैयाँको स्पोन्सरशिप समेत खोज्नुभएको छ । उहाँको प्रशंसा गरेर पुग्दैन । यस्ता केन्द्रीय सदस्य र प्रशिक्षकहरूको लगनशीलताले नै नेपाली भलिबल चलिरहेको छ ।
खेलाडी भाइबहिनीहरू, तपाईंहरू एक ढिक्का भएर खेल्नुहोस् । राष्ट्रको लागि खेल्नुहोस् । जितिसकेको सेटमा हेलचेक्य्राइँ नगर्नुहोस् । हारजित खेलमा हुन्छ, तर हातमा आएको जित गुमाउँदा पीडा हुन्छ । गत वर्ष हामी तेस्रो भएका थियौँ, यसपालि गोल्ड मेडलको आशा छ ।
काबा महिला अन्डर १९ भलिबल च्याम्पियनसिपका लागि तपाईंहरूको यात्रा सुखमय, सफल र फलदायी होस् । मेडल जितेर फर्किएपछि नेपाल भलिबल संघले तपाईंहरूलाई एयरपोर्टमा फेरि स्वागत गर्न पाओस् भन्ने कामना गर्दै, यस बिदाई कार्यक्रममा उपस्थित हुनुभएका सबैलाई धन्यवाद दिँदै कार्यक्रम समाप्त भएको घोषणा गर्दछु ।