कुस्ती खेलप्रति युवाको चासो बढाउन प्रतियोगिता
-
नेप्लेज
- |
- २०८२-०७-२०
- |
- 90 पटक हेरिएको
रौतहट । रौतहट सहित तराई–मधेशका जिल्लामा हुने महोत्सब तथा मेलामा मात्र कुस्ती (दङ्गल) खेल हुने गर्छ । यस खेलको प्रतियोगिता नहुदा युवाहरुमा चासो र रुचि कम भएको पाइएको छ । कतिपय युवालाई कुस्ती खेलको बारेमा जानकारी पनि छैन । जसका कारण कुस्ती खेल बिस्तारै हराउँदै गएको छ ।
कुनै समय गाउँ घरमा निकै लोकप्रिय मानिएको कुस्ती खेललाई संरक्षण गर्ने उदेश्यले गरुडा नगरपालिकाको वार्ड नं.५ स्थित रहेको झाझपुलमा विराट कुस्ती प्रतियोगिताको आयोजना गरिएको छ । कार्तिक पुर्णिामाको अवसर पारेर गरिएको प्रतियोगितामा कुस्ती खेलाडीले आफ्नो कौशलता देखाउने थलो पाएका छन । तर यो खेल पछिल्लो समय ओझेलमा परेको भन्दै गरुडा नगरपालिकाको वार्ड नं.५ का वडा अध्यक्ष रामबिनोद जैसवालले चिन्ता व्यक्त गरे । कुस्ती खेल प्रतियोगिताको उद्घाटन गर्दै उनले अब देखि यस खेलको संरक्षणका लागि वर्षेनी प्रतियोगिता आयोजना गर्ने बताए ।
यो यहाको प्राचीन खेल हो, यसको संरक्षण गर्न अति आवश्यक रहेको उनले औल्याए । उनले भने परम्परागत कुस्ती खेल हाम्रो सांस्कृतिक पहिचानको प्रतीक हो। यस्तो प्रतियोगिताले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै अनुशासन, साहस र आत्मविश्वास जगाउने काम गर्छ ।
अहिले गाउँ घरमा फाट्टफुट्ट रुपमा कुस्ती खेल हुने गएपनि दर्शक खासै हुदैन । आपसी सद्भाव, शारीरिक विकास र मनोरञ्जनका दृष्टिकोणले खेल महत्वपूर्ण भए पनि यसको संरक्षणमा सबै तह जुट्न आवश्यक देखिन्छ । - नेपाल न्युज बैंकबाट