मोटरस्पोट्स र साहसिक खेलकुदको विकासका लागि मन्त्रीको ध्यानाकर्षण

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-२०
  • |
  • 112 पटक हेरिएको

काठमाडौं । नव नियुक्त यूवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासंग नेपाल अटोमोबाइल्स एसोसिएसनका प्रतिनिधिहरूले आज मन्त्रालयमा भेट गरी बधाइ सहितको सुझावपत्र पेश गरेका छन् ।

संघका मार्शल एण्ड ट्रेनिंग कमिसनका सचिव आशिष रौनियार र ई–स्पोर्टस कमिसनका सचिव तथा स्पोर्टस एण्ड इभेन्ट अफिसर अंकित भण्डारी सहितको टिमले संघको तर्फबाट बधाइ दिँदै नेपालमा मोटरस्पोट्र्स र साहसिक खेलकुदको विकासका लागि ठोस नीति, कार्यक्रम र संरचनागत सुधारका सुझावहरू समेटिएको पत्र बुझाएका थिए ।

सो अवसरमा संघका प्रतिनिधिहरूले युवा तथा खेलकुद मन्त्रालयले साँच्चै ‘युवा सोच र साहसिक दृष्टि’ भएको मन्त्री पाएकोमा खुशी व्यक्त गर्दै नेपालका साहसिक तथा पर्यटकीय खेलकुद क्षेत्रले ठूलो अपेक्षा गरेको बताए ।

उनीहरूले नेपाली खेलकुदलाई साँच्चिकै व्यवस्थित, व्यवसायिक र आशालाग्दो बनाउने मन्त्रालयको अभियानमा नेपाल अटोमोबाईल्स एसोसिएसनको सधैं साथ सहयोग र समर्थन प्रतिवद्धता व्यक्त गरे । 

संघको तर्फबाट सुझाब पत्र बुझ्दै मन्त्री गुप्ताले सुझाव अत्यन्त व्यवस्थित, व्यावसायिक र दूरदर्शी रहेको बताउँदै, “मन्त्रालयले यति गहिरो र व्यावहारिक सुझाव पहिलो पटक पाएको हो,” भन्दै संघ, खेलाडी र अफिसियलहरूको सुझावहरूलाई आत्मसाथ गर्ने बताउनुभयो । 

संघको तर्फबाट साच्चै युवा खेलाडी तथा अफिसियल मार्फत प्राप्त सुझावले युबा वर्गमा हौसला पुग्ने बताउनुभयो ।

 

संघले बुझाएको पत्र

“ माननीय मन्त्रीज्यू,

युवा तथा खेलकुद मन्त्रालय, 

सिंहदरबार, काठमाडौँ, नेपाल ।

विषयः हार्दिक शुभकामनासहितमोटरस्पोर्टस् लगायत शाहसिक खेलुकुदको विकासका लागि अनुरोध ।

नेपालको युवा तथा खेलकुद क्षेत्रको नेतृत्वदायी भूमिकामा माननीय मन्त्रीज्यूले जिम्मेवारी प्राप्त गर्नुभएकोमा यहाँलाई हार्दिक बधाई दिँदै यहाँको कार्यकालमा नेपाली खेलकुदले नयाँ सफलता प्राप्त गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछौं । अहिलेको निराशा कुण्ठा, नीतिहिनता तथा कार्यक्रम–विहीन जस्तो बनेको नेपाली खेलकुद क्षेत्रले यहाँको कार्यकालमा नयाँ ट्रयाक भेट्टाउने छ भन्ने अपेक्षा गरेका छौं । 

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) नेपालमा मोटर तथा मोटरसाइक्लिङ स्पोर्टस्, पावर बोटिङ तथा सिम–रेसिङ र ड्रोन लगायतका मोटरबाट चल्ने खेलहरूको राष्ट्रिय संघ हो । राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको यस संघ नेपालको शाहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवद्र्धन गर्दै समृद्ध नेपालको निर्माणमा आफूलाई क्रियाशील बनाइरहेको माननीय मन्त्रीज्यूलाई अवगत गराउन चाहन्छौं । 

नेपाली खेलकुदमा मूलतः नीतिगत प्रष्टता, कार्यक्रम र योजना तथा न्यायपूर्ण बजेट विनियोजनको सख्त जरुरी छ । नेपालको साहसिक तथा पर्यटकीय खेल क्षेत्रलाई व्यवसायिक, पारदर्शी तथा विश्वस्तरको बनाउने कार्यमा हामी सदैव यहाँको साथमा रहनेछौं । 

हामी विगत १६ वर्षदेखि नेपाललाई साहसिक तथा पर्यटकीय खेलको विश्वकै केन्द्र बनाउने कठिन उद्देश्यका साथ संघर्षरत छौँ । आधुनिक खेलकुदको केन्द्र बन्दै गएको तथा आधुनिक पर्यटनको समेत महत्वपूर्ण आधार बनिरहेको नेपालको साहसिक, पर्वतीय तथा हिमाली र उच्च हिमाली क्षेत्रका खेलकुद तथा साहसिक इभेन्टहरूलाई त्यस मन्त्रालयले गम्भीरताका साथ लिनु जरुरी देखिन्छ । 

हाम्रो मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदले लिने कुनै पनि नीति तथा कार्यक्रमले नेपालको दिगो खेलकुद मार्फत पर्यटन, पर्यटन मार्फत रोजगारी र समृद्ध नेपालको निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनु पर्नेछ, र त्यसको लागि हातेमालो गर्न सदैव हामी सदैव उत्साहित छौं । 

विश्वमै लोकप्रिय भइरहेको मोटर स्पोट्र्स नेपाली युवा समेत रोजनइमा पर्ने सृजनशील र चुनौतीपूर्ण खेल हो, जसको लागि संघको क्षमताले भ्याएसम्म हाम्रो तर्फबाट सदैव क्रियाशील छौँ । हाम्रो यो प्रयत्नमा माननीय मन्त्रीज्यू तथा मन्त्रालयको समेत नीतिगत, कार्यक्रमिक तथा आर्थिक नेतृत्व भएमा नेपाली खेलाडीले विश्वस्तरीय पहिचान, पदक तथा प्रतिष्ठा कमाउनेछन् भन्नेमा कुनै शंका छैन । 

गत महिना श्रीलंकाको कोलम्बमा भएको एफआईए एसिया प्यासिफिक मोटर स्पोट्र्स च्याम्पियनसिपमा जापान, अस्ट्रेलिया जस्ता मुलुकहरूसँग समान अंक ल्याउँदै नेपाली टिमले गोल्ड मेडल प्राप्त गरेको सुखद सन्दर्भ समेत माननीय मन्त्रीज्यूलाई अवगत गराउन चाहन्छौँ । 

मन्त्रालय तथा परिषदले समेत आत्मसाथ गरेका दर्जनभन्दा ज्यादा शाहासिक, पर्वतीय तथा पर्यटकीय खेलहरूले यहाँको कार्यकालमा नेपाली खेलकुदमा मात्र नभई पर्यटनमा समेत महत्वपूर्ण योगदान दिन सक्नेछन् भन्ने अपेक्षा समेत गरेका छौं । जसका लागि मूलत देहायका केही कार्यहरू गर्नुपर्ने देखिन्छ : 

 

* नेपालको साहसिक तथा पर्यटकीय खेलकुदको विद्यमान अवस्थाको अध्ययन गरी सुझाव तथा रणनीतिक योजनाको प्रस्ताव तयार गर्न एउटा कार्यदल गठन, 

* नेपाललाई साहसिक तथा पर्यटकीय खेलकुदको केन्द्रको रूपमा विकास गर्न नीतिगत, कार्यक्रमिक तथा बजेटको समेत व्यवस्था, 

* नेपालको मोटर स्पोट्र्सलाई व्यवस्थित, व्यावसायिक तथा प्रतिस्पर्धी बनाउँदै खेलाडी, अफिसियल तथा प्रमोटरको समेतको पेशागत सुरक्षा गर्ने एउटा रेसिङ ट्रयाकको लागि काठमाडौँ उपत्यकाभित्र तत्कालका लागि कम्तिमा १०० रोपनी जग्गा उपलब्ध,

* मोटर स्पोट्र्स लागायतका साहसिक खेलको लागि सपोर्टिभ हुने केही नीतिगत र केही कार्यक्रमहरूको व्यवस्था,

* मोटर स्पोट्र्स लगायतका खेलमा प्रयोग हुने खेल सामग्रीहरूको बीमा हुने व्यवस्था तथा ती सामग्रीहरू नेपाल आयात गर्दा भन्सार छुटको लागि आवश्यक नीतिगत व्यवस्था, 

* गत वर्षदेखि नेपालमा सुरु भएको माउन्ट एभरेस्ट मोटर स्पोर्टस् फेस्टिवलको लागि वार्षिक ५० लाख बजेटको व्यवस्था, 

* नेपालमा पानीजन्य खेल मार्फत दिगो र वातावरण मैत्री पर्यटन प्रवद्र्धन र रोजगारीको सिर्जना तथा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकहरू समेत तयार गर्न मधेस प्रदेशमा एउटा वाटर स्पोट्र्सको सेन्टर निर्माणको लागि आवश्यक नेतृत्व, 

* नेपाल सरकारले गत वर्ष घोषणा गरे अनुसार सञ्चालनमा नरहेका नेपालका केही एयरपोर्टहरूमा साहसिक खेलकुदको सुरुवात गर्ने घोषणा मुताबिक पोखराको डोमेस्टिक एयपोर्ट र बाग्लुङमा अवस्थित बलेवा एयरपोर्टलाई मोटर स्पोर्टस्सहित सहसिक खेलकुद सेन्टरको रुपमा विकास गर्न अन्य मन्त्रालय तथा सम्बन्धित निकायसँग समन्वय, 

* नेपाली युवाहरूमा अत्यन्तै लोकप्रिय बन्दै गएको सिम–रेसिङ, ड्रोन रेसिङ, रोबोटिक लगायतका लागि नेपालका सातवटै प्रदेशमा एउटा–एउटा ई–स्पोर्टस् सेन्टर निर्माण,

* विगत केही वर्षदेखि विविध कारणले रोकिएको माउन्टेन स्पोर्टस् फेस्टिवल पुन सुचारु गर्नको लागि न्यूनतम बजेटको व्यवस्था गरी नेपाल पर्यटन बोर्डसंगको सहर्यमा अल्पाइन स्पोर्टस् फेडरेसनलाई जिम्मेवारी दिन, 

* इस्वी सम्वतको नयाँ वर्ष २०२६ को सुरुवातमा एउटा नेसनल स्पोर्टस् कन्फ्रेन्स गरी पोलिसी डायलग अन सस्टेनेबल स्पोर्टस्को आयोजना,

* राखेपमा दर्ता भएका खेलका अन्तार्राष्ट्रिय प्रतिस्पर्धाका विजयी खेलाडीलाई दिइने पुरस्कारमा भेदभाव बन्द र तोकिएको पुरस्कार समयमै प्रदान गर्ने व्यवस्था । 

हामीलाई थाहा छ, वर्तमान सरकार तथा यहाँको महत्वपूर्ण जिम्मेवारी नेपालमा सुशासन, रोजगारी, दिगो विकाससँगै नयाँ निर्वाचन पनि हो । माथि उल्लेखित कार्यहरू केही महिना या वर्षभित्रै सम्पन्न भइसक्ने पनि होइनन् तैपनि ती सकारात्मक कार्यहरू यहाँको नेतृत्वमा सुरुवात गर्नसके हाम्रा भावी पुस्ताले नेपाली खेलकुद तथा यहाँको सफल नेतृत्वलाई सदैव सम्झिरहनेछन् । 

अन्तमा, माननीय मन्त्रीज्यूलाई पुन कार्य सफलताको शुभकामना दिन चाहन्छौँ । यहाँको सफलतासँग नेपाली खेलकुद र खेल पर्यटन विकासको समेत भाग्य र भविष्य जोडिएको छ, जसमा यहाँ सफल हुनुहुनेछ भन्ने विश्वासका साथ ! ”

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal