काठमाडौं किकर्समा प्रशिक्षक न्यौपानेको पुनरागमन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१७
  • |
  • 719 पटक हेरिएको

काठमाडौं । नेपाली फुटबलका अनुभवी प्रशिक्षक नविन न्यौपाने काठमाडौं किकर्स फुटबल एकेडेमी फर्किएका छन् । उनले आज काठमाडौं किकर्ससँग युवा  खेलाडीहरुको समग्र विकास र किकर्सको सिनियर टोलीको जिम्मेवारी सम्हाल्ने गरी सम्झौता गरेका हुन् ।

काठमाडौं किकर्स फुटबल एकेडेमीको सुरुवात हुँदा न्यौपाने प्रशिक्षक थिए । यो सम्झौताअनुसार उनी काठमाडौं किकर्सको फुटबल विकासको अभियानलाई सघाउन कम्तिमा पाँच वर्ष यो अनुबन्धमा रहने छन् । 

युवा खेलाडीहरुलाई उच्च स्तरको प्रशिक्षणसहित नेपाली फुटबलको विकासमा योगदान पुराउने उदेश्यसहित सुरु भएको काठमाडौं किकर्सले विभिन्न उमेर समूहमा युवा खेलाडीहरुको प्रशिक्षण सञ्चालन गर्दै आइरहेको छ । किकर्सको टोलीले गत महिना मात्रै जर्मनीको माम्मेन्डोर्फमा भएको युथ फुटबल लिगअन्तर्गत यू–१३ तर्फको उपाधि जितेको थियो ।

क्लबले नेपाली फुटबलको अनुभवी प्रशिक्षकको साथले आफ्नो अभियान अझ मजबुत बन्ने विश्वास गरेको छ । “हामीले फुटबल खेलाडीहरुको बृद्धि विकासका लागि एउटा केन्द्र बन्न सकोस् र जसले गर्दा उनीहरुको खेल जीवन र व्यक्तिगत जीवन दुबैमा सफलता मिल्न सकोस् भन्ने उदेश्यले काठमाडौं किकर्स फुटबल एकेडेमीको सुरुवात गरेका हौं”, एकेडेमीका अध्यक्ष नविन पाण्डेले भने, “नविन जी जस्तो अनुभवी प्रशिक्षकको साथले हामी हाम्रो यो लक्ष्यमा सफल हुने छौं ।”

एकेडेमीका निर्देशक आशिस अघिकारीले पनि अध्यक्ष पाण्डेको भनाईमा सहमत जनाए । “हामी नेपाली फुटबलको लिग संरचनामा पनि प्रवेश गर्ने योजनामा छौं । त्यससँगै हाम्रा युवा खेलाडीहरुको समग्र विकासमा प्रशिक्षक न्यौपानेको आवद्धताले महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरेका छौं”, सम्झौतापछि एकेडेमीका निर्देशक आशिस अधिकारीले भने, “हामी हाम्रो एकेडेमी परिवारमा उहाँहालाई स्वागत गर्न पाउँदा खुसी छौं ।”

प्रशिक्षक न्यौपानेसँग मनाङ मस्र्याङ्दी, नेपाली सेना लगायत ठूला टोलीहरुलाई घरेलु उपाधि दिलाएको अनुभव छ । प्रशिक्षक न्यौपानेले समेत किकर्ससँगको अनुबन्धमा खुसी व्यक्त गरे । 

“फुटबल विकासका लागि युवामा लगानी गर्न आवश्यक छ । काठमाडौं किकर्सले नयाँ सोचसहित एकेडेमीको सुरुवात गरेको छ । छोटो समयमै त्यसको नतिजा पनि देखिन थालेको छ । हालै मात्रै पनि किकर्सको टोलीले जर्मनीमा गएर उपाधि जित्यो”, प्रशिक्षक न्यौपानेले भने, “किकर्ससँगको अनुबन्धले आफूसँग भएको ज्ञान युवा खेलाडीहरु सम्म पुराउने अवसर मिल्ने विश्वास गरेको छु ।”

किकर्सले कपन बालुवाखानीस्थित कपअन स्पोट्स सेन्टर लगायत काठमाडौंको विभिन्न स्थानहरुमा युवा खेलाडीहरुका लागि प्रशिक्षण सञ्चालन गर्दै आइरहेको छ । किकर्ससँग अहिलेसम्म ३०० भन्दा बढी युवा खेलाडीले प्रशिक्षण लिइसकेका छन् । किकर्सको समग्र एकेडेमी भने स्कटिस अर्का अनुभवी प्रशिक्षक ली म्यान्सनले टेक्हनिकल डाइरेक्टरको रुपमा हेर्दै आइरहेका छन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey