प्रिमियर लिगको उपाधि जितिसकेको म्यानचेस्टर सिटीले शुक्रबार राती भएको भएको खेलमा न्यूक्यासलमाथि चार तीनको जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक भएको खेलमा सिटीको जितमा फेरान टोरेसले ह्याट्रिक गरे ।
न्यूक्यासलले घरेलु मैदानमा दुई पटकको अग्रतालाई जोगाउन सकेन । खेलको २५ औं मिनेटमा नै क्राफ्टको गोलमा न्यूक्यासलले अग्रता बनाएको थियो । तर ३९ औं मिनेटमा रोद्रीको गोलमा सिटीले खेल बराबरी गर्न सफल भयो ।
त्यसपछि ४२ औं मिनेटमा टोरेसको गोलमा सिटीले खेलमा दुई एकको अग्रत लियो । तर इन्जुरी समयमा जोयलिन्टोनको गोलमा न्यूक्यासलले खेल बराबरी गर्न सफल भयो ।
पहिलो हाफमा दुई दुई गोलको बराबरी भएको खेलको दोस्रो हाफमा सिटीले दुई गोल गर्दा घरेलु टिमले एक गोलमात्र गर्न सक्यो । खेलको ६२ औं मिनेटमा विललोकले गोल गर्दै न्यूक्यासललाई तीन दुईले अगाडी राखे । उनको पेनाल्टी प्रहारलाई सिटीको गोलकिपरले बचाएपनि रिबाउण्डमा गोल गरेका थिए । तर त्यसको दुई मिनेटमा नै टोरेसको ब्यक्तिगत दोस्रो गोलका कारण खेल तीन तीनको अवस्थामा पुग्यो ।
खेलको ६६ औं मिनेटमा सिटीले चार तीनको अग्रता लियो । यसपटक टोरेसले ब्यक्तिगत ह्याट्रिक पुरा गरे ।
त्यसपछि पछि दुबै टिमले एक अर्काको पोष्टमा आक्रमण गरेपछि थप गोल गर्न सकेनन् । यो जितपछि सिटीले तालिकामा ३६ खेलमा ८३ अंक बनाएको छ ।