जाद्रनले कर्णाली याक्सबाट खेल्ने
-
नेप्लेज
- |
- २०८२-०७-२७
- |
- 156 पटक हेरिएको
काठमाडौं । कर्णाली याक्स स्पोट्स प्रा.लीले अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका ब्याटर नाजिबुल्लाह जाद्रनलाई अनुबन्ध गरेको छ । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले पाचौं विदेशी खेलाडी अनुबन्ध गरेको हो ।
कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन टेष्ट राष्ट्रका जाद्रनलाई अनुबन्ध गरेको जानकारी गराएका छन् ।
कर्णाली याक्सले पाँच विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा स्कटल्यान्डका जेम्स वाट, नेदरल्यान्ड्सका म्याक्स ओ डाउड र भारतका प्रियाङ्क किरित पन्चालले पहिलो पटक कर्णालीबाट खेल्दैछन् ।
३२ वर्षीय बायाँ हाते ब्याटरले अफगानिस्तानबाट १०७ खेल खेल्दा १ हजार ८ सय ३० रन बनाएका छन् । १३७.८० को औसतमा रन बनाउँदा ८ अर्धसतक बनाए । एकदिवसीयमा भने उनले ९२ खेलमा २ हजार ६२ रन बनाएका छन् ।
यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, सह प्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ ।
२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।