सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-२७
  • |
  • 122 पटक हेरिएको

सिद्धार्थ विद्या सदन (छात्र) र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्रा) एन्फा यु–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

नेपालगन्ज रंगशालामा भएको फाइनल खेलमा सिद्धार्थ विद्या सदनले कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलाई ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । सिद्धार्थलाई फाइनलको ट्रफी दिलाउने क्रममा कमल परियारले १९औं र ३९औं मिनेटमा गोल गर्नु भयो ।

टोलीका लेखराज भारतीले ४१औं मिनेटमा गोल गर्नु भएको थियो । कोहलपुर बागेश्वरीका आशिष बलमे सुरुआतको ३१औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएको थियो । तर बागेश्वरीले अग्रतालाई धेरै बेर सम्म जोगाउन सकेन । त्यस्तै खेलको २०औं मिनेटमा सिद्धार्थका नविन रोकाले रातो कार्ड पाएर मैदानबाहिर जानु परेको थियो ।

बागेश्वरीका खेलाडीले डिबक्समा बल अगाडी बढाइरहेका बेला अन्तिम डिफेन्सका रुपमा रहेका नविनले बिपक्षी टिमका खेलाडीलाई हातले रोकेर लडाएपछि रेफ्री अमर घलेले रातो कार्डको देखाउँनु भएको थियो ।

छात्रा तर्फका फाइनल खेलमा नेपालगन्ज सेन्ट जेभियर्सले होलिल्याण्ड हाइस्कुललाई १–० ले हराउँदै च्याम्पियन बन्यो ।

नेपालगन्ज सेन्ट जेभियर्सका लागि कप्तान लक्ष्मी बुढामगरले ४६औं मिनेटमा गरेको गोल फाइनल खेलको निर्णायक बन्यो । बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा गत भदौं २० गते सुरु भएको थियो ।

तर जेनजी आन्दोलनका कारण प्रतियोगिता बिचमै राखिएर कात्तिक महिनामा भएको हो ।

प्रतियोगितामा छात्र तर्फ सिद्धार्थका युवराज विक र छात्रा तर्फ नेपालगन्ज सेन्ट जेभियर्सको करिष्मा पासीले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफी प्राप्त गर्नु भयो ।

प्रतियोगिताका विजयी खेलाडीलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, महिला फुटबल समिति बाँके अध्यक्ष नितु शाह चन्द, उपाध्यक्ष रोजी सिंह, महासचिव नगिना श्रेष्ठ, नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, फुटबलका पुर्व राष्ट्रिय खेलाडी गोविन्द प्रसाद श्रेष्ठ, किशोर जंग राणा लगायतले पुरस्कृत गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामीले खेलकुदलाई राज्यले प्राथमिकतामा राखेर स्वस्थ नागरिक उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो ।

बाँके जिल्लाको फुटबल विकासमा संघले महत्वपुर्ण कार्यक्रमहरु गरिरहेकोमा धन्यवाद दिदै आउने दिनमा फुटबलको विकासमा सहकार्य गरेर अगाडी बढने धामीले बताउनु भयो ।

आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले बाँकेबाट प्रतिभाशाली खेलाडी उत्पादन गर्न एन्फा यु–१४ फुटबल प्रतियोगिता महत्वपुर्ण सावित हुने बताउनु भयो ।

उहाँले भन्नु भयो,‘फुटबल संघ समाजसँग जोडिएर खेलको विकासमा योजना बनाएर काम गरिरहेको छ । हामीले ग्रासरुट देखि लिएर राष्ट्रिय स्तरका प्रतियोगिता, प्रशिक्षण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’

प्रतियोगिताको विजेता टिमले लुम्बिनी प्रदेश स्तरीय एन्फा यु–१४ फुटबल प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजक बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले बताउनु भयो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal