ब्राजिल कोपाको अन्तिम ८ नजिक

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१५
  • |
  • 953 पटक हेरिएको

काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिलले पहिलो जित दर्ता गरेको छ । शनिबार विहान भएको खेलमा ब्राजिलले पाराग्वेमाथि ४–१ गोलको शानदार जित दर्ता गरेको हो । पहिलो खेलमा कोस्टारिकासँग अंक बाँडेको ब्राजिलले शनिबारको जितसँगै तालिकामा ४ अंक बनाएको छ । यो समूहबाट कोलम्बियाले अन्तिम ८ मा स्थान पक्का गर्दा ब्राजिल पनि नकआउट चरणको प्रवेश नजिक छ । 

ब्राजिलले पहिलो हाफमै ३ गोल गरेको थियो । ३५ औं मिनेटमा लुकास पुएटाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा साभियो मोरेराले गोल गरेपछि ब्राजिलको अग्रता दोब्बर भएको थियो । पहिलो हाफको अतिरिक्त पाँचौं मिनेटमा भिनिसियस जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दा ब्राजिलले पहिला हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो ।

४८ औं मिनेटमा पाराग्वेका लागि ओमार एल्डरेटले गोल फर्काउँदै अन्तर ३–१ मा झारेका थिए । तर, ६५ औं मिनेटमा लुकास पुएटाले पेनाल्टीमार्फत गोल गरेपछि ब्राजिल ४–१ ले अघि बढ्यो । ८१ औं मिनेटमा एड्रियन एन्ड्रेस क्युवाले रातो कार्ड पाउँदै मैदान छाडेपछि पाराग्वे १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा भने ब्राजिलले उठाउन नसक्दा अन्ततः ४–१ को नतिजाका साथ तालिकामा ३ अंक थप्न सफल भयो । 

ब्राजिल ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अब समूह चरणको अन्तिम खेलमा ब्राजिलले कोलम्बियासँग बराबरी खेल्दा पनि अन्तिम ८ मा प्रवेश गर्ने छ भने पराजित हुँदा कोस्टारिका र पारग्वेको नतिजामा भर पर्ने छ । कोस्टारिका १ अंकका साथ अहिले तालिकाको तेस्रो स्थानमा छ । पाराग्वेले खाता पनि खोलेको छैन । समूह चरणको अन्तिम खेलमा कोस्टारिका र पाराग्वे भिड्ने छन् । अन्तिम खेल जुलाई ३ तारिखमा हुने छ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey