उपाधिका लागि मधेस प्रदेश र भारतको कोलकाता भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१६
  • |
  • 213 पटक हेरिएको

चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा उपाधिका लागि मधेस प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता भिड्ने भएका छन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शुक्रबार) भएको पहिलो सेमीफाइनल खेलमा समूहको शीर्ष स्थानमा रहेको भारतको क्षेत्रीय टोली  पीएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेस प्रदेश फाइनलमा स्थान सुरक्षित गरेको हो । 

जितको लागि लखनउले दिएको १४८ रनको लक्ष्य मधेस प्रदेशले १९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा ग¥यो । मधेसलाई जित्न अन्तिम ओभरमा ११ रनको आवश्यकता थियो । अन्तिम ओभरको पहिलो बलमा प्रदिप पासवान रन आउट भए । दोस्रो बलमा अभिषेक तिवारीले रन जोड्न सकेनन् । तेस्रो र चौथो बलमा तिवारीले लगातार दुई छक्का प्रहार गर्दै मधेसलाई महत्त्वपूर्ण जित दिलाए । मधेसका लागि तिवारीले अविजित १४ बलमा २३ रन बनाए । उनले २ चौका र २ छक्का प्रहार गरे । यस्तै रोहन वि.क.ले ५० बलमा ८३ रन बनाए । उनले ६ चौका र ६ छक्का नै प्रहार गरे । उनकै महत्वपूर्ण पारीले मधेसले बलियो टोली लखनउलाई पराजित गर्न सफल भयो । मधेसका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । 

लखनउका लागि प्रिन्स शाहीले ४ ओभरमा १६ रन खर्चिएर ५ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । मोहम्मद सरिम र कार्तिक यादवले समान १ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । उसका लागि सन्दीप मितलले २६ बलमा ३६ रन, निखिल रावले २२ बलमा २३ रन बनाए । 

मधेसका लागि भुलन सहनीले ४ ओभरमा १५ रन खर्चिदै ३  विकेट लिए । विशाल पटेल र अभिषेक तिवारीले समान १ विकेट लिए । खेलमा महत्वपूर्ण पारी खेलेका मधेशका रोहन वि.क.प्लेयर अफ दि म्याच घोषित भए । 

मधेस लिग चरणमा लखनउसंग पराजित हुँदै चौथो स्थानमा रहेर सेमीफाइनलमा पुगेको थियो भने लखनउ शीर्ष स्थानमा रहेर सेमीफाइनलमा स्थान बनाएको थियो । 

यस्तै शुक्रबार नै भएको दोस्रो सेमीफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गर्दै अर्को भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाताले उपाधिका लागि मधेससंगको भिडन्त पक्का गरेको छ । 

सुदूरपश्चिमले दिएको १४५ रनको लक्ष्य कोलकाताले १५.३ ओभरमा ३ विकेट गुमाउँदै १५० रन बनाएर जित हासिल ग¥यो । कोलकातालाई सहज जित दिलाउन विकास चौधरीले ७१ रनको विष्फोटक पारी खेले । उनले ४२ बलमा ५ छक्का र ६ चौकाको मद्धतमा ७१ रन बनाए । रमन कदयनले ३७ बलमा ३ छक्का र ७ चौकाको मद्धतमा ६० रन बनाए भने कुनाल नगरले ६ बलमा १३ रन बनाए । 

सुदूरपश्चिमका लागि नरेन साउदले ४ ओभरमा ३७ रन खर्चिदै २ विकेट लिए भने दीपक बोहोराले ४ ओभरमा ३८ रन खर्चिएर एक विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश १४४ रनमा अलआउट भएको थियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ५८ रन बनाए । उनले ४३ बलमा १ छक्का र ६ चौका प्रहार गरे । बसन्त कार्कीले १९ बलमा ३४, दीपक बोहोराले १३ बलमा १५ रन बनाए । 

मधेशलाई अलआउट गर्न कोलकाताका सन्दीप गुप्ताले ३ ओभरमा १६ रन खर्चिदै महत्वपूर्ण ४ विकेट लिए भने शौरभ यादवले ४ ओभरमा २१ रन खर्चिदै ३ विकेट लिए । अभिषेक सिंह, प्रशान्त र मिलन यादवले समान एक विकेट लिए । 

खेलमा कोलकाताका विकास चौधरी प्लेयर अफ दि म्याच घोषित भए । लिग चरणमा सुदूरपश्चिम प्रदेशले कोलकातालाई पराजित गर्दै प्रतियोगितामा दोस्रो स्थानमा उक्लिदै सेमीफाइनल पुगेको थियो । 

फाइनल खेल भोलि (शनिबार) हुनेछ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey