सुर्खेत । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पुरा भएको छ ।
लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको हो ।
सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई-दुई अंक प्राप्त गरेको भएपनि रनरेटका आधारमा सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको हो ।
यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका थिए ।
टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११७ रन बनाएको थियो ।
गण्डकीका लागि सिमाना केसीले सर्वाधिक ४० रनको योगदान दिइन् । ३४ बल खेलेकी सिमानाले तीन चौका प्रहार गरिन् । यस्तै सम्झना पौडेलले नटआउट ३८ रनको योगदान दिइन् ।
ओपनर दिपिका सापकोटा शून्यमै आउट हुँदा श्रेया शाहले १५ रन बनाइन् । रेखा तामाङ ४ रन बनाएर आउट हुँदा चन्द्रमाया बराल र कुशुम गोदारले एक-एक रन थपे ।
सुदूरपश्चिमकी स्नेहा महराले २ विकेट लिइन् भने अनु कडायत, करिष्मा थापा र यशु पाण्डेले एक-एक विकेट लिए । सुदूरपश्चिमलाई जिताउन अनु कडायतले महत्वपूर्ण पारी खेलिन् । ३३ बलको सामना गरेकी अनुले दुई छक्का र सात चौका प्रहार गरिन् ।
यस्तै मनिषा बोहराले २५ रन बनाउँदा यशु पाण्डेले ११, ऋतु कनौजीयाले ८, स्नेहा महराले दुई र ममता बोहराले एक रन बनाइन् ।
गण्डकीका लागि दिपिका सापकोटाले ४ तथा चन्द्रमाया बरालले १ विकेट लिए ।