जुम्ला। १० ओैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिर पुर्याइएको छ ।
शनिबार म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा ख्यातिप्राप्त ओलम्पिएनहरुले प्रतियोगिताको ट्रफी तथा ओलम्पिक टर्च जुम्ला पुर्याएका हुन् ।
शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानकाे अखण्ड ज्वालाबाट ओलम्पिक टर्च बालेर सुभारम्भ भएको ट्रफी टुर जुम्ला पुगेर प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत फर्कने छ ।
जुम्ला बजार परिक्रमा पश्चात् ट्रफी र टर्चलाई मन्दिर पुर्याइएको हो। कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यसहित ओलम्पिक टर्च तथा ट्रफी टुर सुरु गरिएको हो।
शुक्रबार दैलेखको धार्मिक तथा पर्यटकीय स्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च बालेर ट्रफी टुरको शुभारम्भ गरिएको थियो। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुरु भएको टर्च तथा ट्रफी टुरले प्रतियोगिताको माहौल सिर्जना गर्नुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरिएको छ ।
टुरमा ओलम्पियन दीपक विष्ट, साग गेम्सका डबल गोल्ड मेडलिस्ट दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा, कराते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीको सहभागिता छ।