राष्ट्रिय पौडीमा बुधबार बने चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्ण सहित शिर्ष स्थानमा

  • Image नेप्लेज
  • ९ मंसिर २०८३, बुधवार
  • 71 पटक हेरिएको
राष्ट्रिय पौडीमा बुधबार बने चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्ण सहित शिर्ष स्थानमा

नेपालगन्ज । दशौं राष्ट्रिय खेलकुदको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिप बुधबार चार नयाँ कीर्तिमान बनेका छन् ।

पुरुष ४०० मिटरमा सुदुरपश्चिमका अर्थव सिंह, १०० मिटर ब्रेस्ट स्ट्रोकमा बागमतिका अभिव प्रधान र महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएन लिली बोहराले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

नेपालगन्ज स्थित पौडी पोखरीमा भएको प्रतियोगिताको दोस्रो दिन सुदुरपश्चिमका अर्थवले स्वर्ण पदक जित्ने क्रममा आफनो कीर्तिमानलाई भंग गर्दै ४ मिनेट ५६.७६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । यसअघि उनको नाममा सन् २०२५ मा ४ मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान बनेको थियो । अर्थवले स्वर्ण जित्दा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले रजत (५ मिनेट ०७.५७ सेकेन्ड) र बागमतिका अरिक कर्माचार्यले कास्य पदक(५ मिनेट २६.९९ सेकेन्ड) जिते ।

महिला तर्फको ८०० मिटर फ्रिस्टायलमा लिलीले स्वर्ण पदक जित्ने क्रममा ९ मिनेट ३४.०६ सेकेन्डको नयाँ कीर्तिमान बनाएकीछिन् । यसअघि उक्त इभेन्टमा सन् २०२५ मा नेपाल आर्मी क्लबकी डुअना लामाको १० मिनेट ०६.९२ सेकेन्डको कीर्तिमान बनेको थियो । लिलीले स्वर्ण जित्दा डुअनाले आफनै पुरानो समयलाई सुधार गर्दै ९ मिनेट ५९.५४ सेकेन्डमा पुरा गर्दै रजत र पुलिसकी देभान्सी जोशीले १० मिनेट ५८.५८ सेकेन्ड सहित कास्य पदक हासिल गरिन् ।

यसैगरी बुधबार बागमति प्रदेशका अभिव प्रधानले १०० मिटर फ्रिस्टायलमा १ मिनेट ०१.५१ सेकेन्डको नयाँ कीर्तिमान बनाउँदैं स्वर्ण पदक जिते । यसअघि सन् २०२५ मा प्रारम्भ भण्डारीले १ मिनेट ०३.३९ सेकेन्डको कीर्तिमान बनाएका थिए । प्रधानले स्वर्ण जित्दा बागमतिका रिभान्त बहादुर श्रेष्ठले १ मिनेट ०४.०० सेकेन्ड सहित रजत र आर्मीका जाडेन श्रेष्ठले १ मिनेट ०४.०३ सेकेन्ड सहित कास्य पदक हासिल गरे ।

त्यस्तै नेपाल पुलिस क्लबको टिमले पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायलमा ८ मिनेट ३२.१३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । यसअघि सन् २०१६ मा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङको नाममा रहेको ९ मिनेट १७.६८ सेकेन्डको कीर्तिमानलाई बुधबार पुलिस क्लबका इर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र काल्किन श्रेष्ठले भंग गर्दै ८ मिनेट ३२. १३ सेकेन्डको नयाँ कीर्तिमान बनाउन सफल भएका छन् ।

प्रतियोगिता अन्तर्गत महिला ५० मिटर बटरफ्लाईमा एनआरएन मिखा काया थापाले स्वर्ण पदक(३०.७८ सेकेन्ड), पुलिसकी देभान्सीले रजत(३२.८८सेकेन्ड) र बागमतीकी इरा अमात्य र आर्मीकी शिसोम्बुन राईले ३३.५६ सेकेन्डमा पुरा गर्दै संयुक्त रुपमा कास्य पदक हासिल गरे । ५० मिटर पुरुष बटरफ्लाईमा बागमतिका अभिव प्रधानले स्वर्ण(२६.०७सेकेन्ड), पुलिसका इर्भिनले रजत(२७.१४ सेकेन्ड), आर्मीका खेलाडीद्धय सौरेन बहादुर सिंह र असिम भण्डारीले २७.३२ सेकेन्ड समय खर्चेर कास्य पदक जिते । २०० मिटर महिला फ्रिस्टायलमा एनआरएन लिलीले स्वर्ण(२ मिनेट १४.०३सेकेन्ड), आर्मीकी डुअना रजत(२ मिनेट १४.४२ सेकेन्ड) र एनआरएन मिखाले कास्य(२ मिनेट १९.६८ सेकेन्ड) पदक जितिन् ।

२०० मिटर पुरुष फ्रिस्टायलमा पुलिसका इर्भिनले (१ मिनेट ५९.४८सेकेन्ड) स्वर्ण, पुलिसकै काल्किनले रजत(२मिनेट ००.८३ सेकेन्ड) र आर्मीका अल्भिनले कास्य(२मिनेट ०५.००सेकेन्ड) पदक हासिल गरे । १०० मिटर महिला ब्याकस्ट्रोकमा बागमतिकी आर्या महर्जनले स्वर्ण(१ मिनेट ११.९५सेकेन्ड), एनआरएन मिखाले रजत(१ मिनेट १३.६२सेकेन्ड) र बागमतिकी रोयल प्रजापतिले कास्य(१ मिनेट १४.४३सेकेन्ड) कास्य हासिल गरिन् । ४ गुणा १०० मिटर महिला मिड्ले रिलेमा बागमतिले स्वर्ण (५ मिनेट ०५.६९सेकेन्ड), पुलिसले रजत(५ मिनेट ११.७१ सेकेन्ड) र आर्मीले कास्य (५ मिनेट १५.८५ सेकेन्ड) पदक हासिल गरेको छ । बुधबारको अन्तिम इभेन्ट मिक्स ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतिले स्वर्ण(२ मिनेट ०२.४६ सेकेन्ड) आर्मीले रजत(२ मिनेट ०४.११ सेकेन्ड) र पुलिसले कास्य पदक (२ मिनेट ०७.०८ सेकेन्ड) हासिल गरेको छ ।

प्रतियोगिताको दोस्रो दिन सम्म आइपुग्दा अंक तालिकामा बागमति ९ स्वर्ण, ४ रजत, ६ कास्य गरी कुल १९ पदक सहित शिर्ष स्थानमा छ भने एनआरएन टिम ६ स्वर्ण, १ रजत र २ कास्य गरी कुल ९ पदक सहित दोस्रो र पुलिस ३ स्वर्ण, ७ रजत, ८ कास्य गरी कुल १८ पदक सहित तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको आर्मीले २ स्वर्ण, ८ रजत, ८ कास्य पदक, पाँचौ स्थानमा रहेको सुदुरपश्चिमले १ स्वर्ण, २ रजत गरी कुल ३ पदक र कोशी प्रदेश १ स्वर्ण सहित तालिकाको छैठौ स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत दोस्रो दिन सम्म आइपुग्दा ६ वटा इभेन्टमा राष्ट्रिय कीर्तिमान बनेको छ । प्रतियोगिताको पहिलो दिन पुरुष तर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफनै रेकर्डमा सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाएका थिए ।

त्यस्तै महिला तर्फको ४०० मिटर (आइएम) एनआरएन लिली बोहराले ५ मिनेट १७.०१ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी थिइन् । बुधबार प्रतियोगितामा पदक जित्ने खेलाडीलाई ओलम्पियन सुरेन्द्र हमाल र पार्वती थापाले पुरस्कृत गर्नु भएको थियो ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment