काठमाडौं । नेपालले घरेलु मैदानमा हुने आइसिसी पुरुष क्रिकेट विश्वकप छनोटको प्लेअफमा पहिलो खेल इटालीसँग आगामी डिसेम्बर ४ तारिखमा खेल्नेछ।
नेपालले सन् २०२७ को ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यसहित डिसेम्बर ४ देखि घरेलु मैदानमा छनोट प्लेअफ खेल्ने भएको छ। कुल आठ राष्ट्रमध्ये शीर्ष चार टोलीले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार खेलतालिका सार्वजनिक गरेको हो।
उद्घाटन खेलमा नेपाल र इटाली बीच डिसेम्बर ४ तारिखमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। सोही दिन माथिल्लो मूलपानी क्रिकेट मैदानमा नामिबिया र युगान्डाबीच प्रतिस्पर्धा हुने तालिका छ। ६ टोली सहभागी प्रतियोगिता डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुनेछ।
नेपालसहित इटाली, नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र संयुक्त अरब इमिरेट्स ९युएई० ले प्लेअफमा प्रतिस्पर्धा गर्दैछन्। नेपालले दोस्रो खेलमा डिसेम्बर ६ तारिखमा युगान्डासँग खेल्नेछ। त्यसपछि डिसेम्बर १० मा युएई, डिसेम्बर १२ मा जर्सी, डिसेम्बर १४ मा क्यानडा, डिसेम्बर १८ तारिखमा नामिबिया र डिसेम्बर २१ तारिखमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले लिग चरणका सातवटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्ने तालिका छ। प्लेअफका खेल त्रिवि र माथिल्लो मूलपानी गरी दुई मैदानमा सञ्चालन हुनेछन्। आइसिसीका इभेन्ट्स तथा अपरेसन्स महाप्रबन्धक गौरव सक्सेनाले छनोट प्लेअफ विश्वकप २०२७ सम्म पुग्ने यात्राको महत्त्वपूर्ण चरण भएको बताएका छन्। उनले आठै टोली ग्लोबल छनोटमा स्थान बनाउने अवसरका लागि उत्साहित रहेको र प्रतियोगिता प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरेका छन्। उनले एसोसिएट क्रिकेटको विकासमा यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै टोलीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने, अनुभव हासिल गर्ने र खेलस्तर सुधार्ने अवसर पाउने बताए।
पछिल्ला वर्षमा एसोसिएट टोलीहरूले गरेको प्रगतिले आफू उत्साहित रहेको पनि उनले बताए। ग्लोबल छनोटमा यसअघि नै आयरल्यान्ड र वेस्ट इन्डिजले स्थान सुरक्षित गरिसकेका छन्। विश्वकपका आठ स्वतः छनोट हुने टोलीबाहेक वरीयताका आधारमा यी दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाएका हुन्। दक्षिण अफ्रिका र जिम्बाब्वे आयोजक राष्ट्रका रूपमा स्वतः छनोट भइसकेका छन्। आइसिसी क्रिकेट विश्वकप लिग–२ बाट अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले पनि ग्लोबल छनोटमा स्थान पक्का गरेका छन्।
लग्लोबल छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। त्यसबाट शीर्ष स्थानका टोलीले सन् २०२७ को विश्वकपको समूह चरणमा सीधै स्थान बनाउनेछ। दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले नवगठित सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। सन् २०२७ को पुरुष क्रिकेट विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा अक्टोबर २ देखि नोभेम्बर २१ सम्म आयोजना हुनेछ। १४ टोली सहभागी प्रतियोगितामा १२ मैदानमा कुल ५७ खेल हुनेछन्।