चन्द्रागिरिमा मंसिर १० देखि टि-१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने

  • Image नेप्लेज
  • ७ मंसिर २०८३, सोमवार
  • 57 पटक हेरिएको
चन्द्रागिरिमा मंसिर १० देखि टि-१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने

काठमाडौं। चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपाल को आयोजनामा तथा चन्द्रागिरि नगरपालिकाको सहयोगमा चन्द्रागिरि क्रिकेट च्याम्पियनसिप टि-१० को दोस्रो संस्करण आयोजना हुने भएको छ।

प्रतियोगिता आगामी मंसिर १० गतेदेखि १५ गतेसम्म काठमाडौंको चन्द्रागिरि नगरपालिका–६, गोलछापस्थित मदन भण्डारी खेल मैदानमा सञ्चालन हुनेछ।

स्थानीय स्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा उत्पादन र युवा खेलाडीलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

साथै, चन्द्रागिरि क्षेत्रलाई क्रिकेटको सम्भावनायुक्त केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसमेत प्रतियोगिताले राखेको छ। प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहनेछ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ, जसमा प्रत्येक समूहमा चार टोली रहनेछन्। ड्युस बल प्रयोग गरी खेलाइने प्रतियोगिता टि-१० फर्म्याटमा सञ्चालन हुनेछ। प्रतियोगिताको विजेता टोलीले नगद ७० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

त्यसैगरी, उत्कृष्ट खेलाडीहरूलाई प्रोत्साहनस्वरूप प्लेयर अफ द म्याच, प्लेयर अफ द टुर्नामेन्टलगायत विभिन्न विधामा नगद पुरस्कार तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

विजेता तथा उपविजेता टोलीलाई ट्रफी र मेडलसमेत प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत स्थानीय तथा राष्ट्रिय स्तरका क्रिकेट प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवाहरूमा अनुशासन, एकता, प्रतिस्पर्धात्मक भावना र सकारात्मक सोचको विकासमा योगदान पुग्ने आयोजकको विश्वास छ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न चन्द्रागिरि नगरपालिका, स्थानीय संघसंस्था, खेलप्रेमी, प्रायोजक, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई सहयोग र सहभागिताका लागि आयोजकले अपिल गरेको छ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment