काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाइएका सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
राखेपका सदस्य सचिव रामचरित्र मेहताले बिहीबार (नोभेम्बर १९) एन्फालाई पत्र पठाउँदै निलम्बन फुकुवा गरिएको जानकारी दिएका हुन्।
राखेपको कार्यकारी समितिले नोभेम्बर १९ मै गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा जारी गरिएका सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध हटाइएको पत्रमा उल्लेख छ। यससँगै एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिक प्रतिबन्धसमेत हटेका छन्।
एन्फाले गत अप्रिल ५ (२०२६) मा पत्राचार गर्दै निलम्बन फुकुवाका लागि राखेपसमक्ष अनुरोध गरेको थियो। सोही अनुरोध तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (३) बमोजिम राखेपले निलम्बन फुकुवा गर्ने निर्णय गरेको पत्रमा जनाइएको छ।
राखेपले उक्त निर्णय पत्र जारी भएको मितिदेखि नै लागू हुने स्पष्ट पारेको छ। पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सम्बन्धित मन्त्रीको सचिवालय तथा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का महासचिवलाई समेत पठाइएको छ।
यस निर्णयसँगै एन्फामाथि राखेपले लगाएका प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटेका छन्।