काठमाडाैं। दक्षिण एसियाली आईटीएफ तेक्वान्दो महासंघका अध्यक्ष ग्रान्ड मास्टर राजेन्द्रन बलान बुधबार काठमाडौं आएका छन्।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) को आयोजनामा मंसिर ४ गतेदेखि काठमाडौं सुरु हुने आठौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका लागि राजेन्द्रन काठमाडौं आएको आयोजक महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले जनाएका छन्।
राजेन्द्रन र दक्षिण एसियाली आईटीएफ तेक्वान्दो महासंघका महासचिव अब्दु रहिमन मंगला सेरीसहित ५ सदस्यीय टोली काठमाडौं आएको हो। आयोजक महासंघका अध्यक्ष प्रवीणकुमार कार्की, पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, अफ्गानिस्तान र इथोपियाबाट करिब ७ सय ५० खेलाडी सहभागी हुने छन्। प्रतियोगितामा जुनियर, क्याडेट, युथ, एडल्ट र भेट्रानमा सिंगल÷ग्रुप स्पाइरिङ र प्याटर्न तथा सेल्फ डिफेन्स विधामा प्रतिस्पर्धा हुनेछ। कुल ३ सय ६० स्वर्णका लागि भिडन्त हुनेछ। तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल हुनेछ। नेपालले दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना गर्न लागेको यो पाँचौंपटक हो। बाँकी ३ संस्करण भारतले आयोजना गरेको थियो।