यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै

  • Image नेप्लेज
  • २४ कार्तिक २०८३, मङ्गलवार
  • 57 पटक हेरिएको
यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौं । ओमानमा चलिरहेको यू-१९ एशिया कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा पराजित भएको नेपालले आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे अलअमेरातमा शुरु हुनेछ ।

समूह ‘ए’ मा रहेको नेपालले यसअघि खेलेका दुवै खेल गुमाएको छ । पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा यूएईसँग सात विकेटको हारेको थियो ।

भारतविरुद्धको पहिलो खेलमा नेपालले ४३ ओभर तीन बलमा सबै विकेट गुमाएर १२८ रन बनाएको थियो । नेपालले दिएको लक्ष्य भारतले कुनै पनि विकेट नगुमाई १९ ओभर एक बलमै पूरा गरेको थियो । दोस्रो खेलमा पनि नेपालको ब्याटिङ र बलिङ दुवै चल्न सकेन । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको थियो । नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ३४ ओभर चार बलमै तीन विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तान यो प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ । पाकिस्तानले आफ्नो पहिलो खेलमा यूएईलाई नौ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतलाई तीन विकेटले हराएको थियो ।

यसैबीच पाकिस्तानसँगको खेलपछि नेपाली टोली भोलि नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अनुसार नेपाली टोली भोलि दिउँसो साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ ।