काठमाडौं । अलराउन्डर रसिद खानको विष्फोटक अर्धशतकप्रेरित काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको डे-नाइट खेलमा चितवनसामु १८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रनको योगफल तयार पारेको हो।
१३ रनमै २ विकेट गुमाएर संकटमा परेको काठमाडौंको इनिङ्स रसिद खानले उकासे। उनले मात्र ३० बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५२ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले।
रसिदले विलियम बोसिस्टोसँग तेस्रो विकेटका लागि ६२ रन र सहन अराचिगेसँग चौथो विकेटका लागि ५३ रनको महत्वपूर्ण साझेदारी गरे। अराचिगेले २० बलमा ३ चौका र २ छक्कासहित ३३ रन तथा बोसिस्टोले २२ बलमा २७ रनको योगदान दिए।
अन्त्यतिर कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै मात्र ७ बलमा ३ छक्काको मद्दतले २० रन जोडे। सन्तोष यादवले २ बलमा १ छक्कासहित अविजित ८ रन, मोहम्मद आदिल आलमले ९ रन र जहान्दाद खानले ६ रन बनाउँदा भीम सार्की शून्य रनमा अविजित रहे।
यसअघि स्टार ब्याटर डेभिड वार्नर १ रन र विकेटकिपर साहिल पटेल ८ रनमै आउट भएका थिए। काठमाडौंले अतिरिक्त १६ रन पाएको थियो।
चितवनका लागि तीव्र गतिका बलर रिजन ढकालले निकै किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए।
यस्तै, कमल ऐरीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट र सिकन्दर राजाले ३ ओभरमा १९ रन दिएर २ विकेट हात पारे। ड्यान मौसलेले १ विकेट लिए भने कुशल मल्लले २ ओभरमा ३९ रन, रञ्जित कुमारले २ ओभरमा १७ रन, मौसम ढकालले २ ओभरमा १७ रन र रवि बोपाराले १ ओभरमा १३ रन खर्चिए।