हेरिटेज रनमा महिलातर्फ कृतिका र पुरुषतर्फ सलमान विजेता

  • Image नेप्लेज
  • ८ कार्तिक २०८३, आइतवार
  • 59 पटक हेरिएको
हेरिटेज रनमा महिलातर्फ कृतिका र पुरुषतर्फ सलमान विजेता

काठमाडौं । काठमाडौं महानगरपालिकाले एनएसआर स्पोर्टस फाउन्डेसन (काठमाडौं म्याराथन)सँगको सहकार्यमा आयोजना गरेको १० हजार मिटर काठमाडौं फिल्म फेस्टिभल हेरिटेज रन (सम्पदा दौड)मा महिलातर्फ कृतिका ह्याउमिखाले ५१ मिनेट ५८.५ सेकेण्ड र पुरुषतर्फ सलमान शेखले ३८ मिनेट ५६ सेकेण्डमा निर्धारित दुरी पार गरेर विजेता बनेका छन् ।

आज बसन्तपुरबाट सुरु भएर १० हजार मिटर दुरी पार गरिसकेपछि बसन्तपुरमै समापन भएको दौडमा महिलातर्फ जेनिशा राईले ५४ मिनेट २३ सेकेण्ड, निशा महर्जनले ५८ मिनेट २५.८ सेकेण्डमा दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । यस्तै पुरुषतर्फ समीर कन्दङ्वाले ४० मिनेट २५.८ सेकेण्डमा र सुरज शाहीले ४४ मिनेट २२.८ सेकेण्डमा दुरी पार गरेर क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।

विजेता दुवै समूहका प्रथम, द्वितीय र तृतीयलाई काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले क्रमशः ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ र २० हजार रुपैयाँसहित मेडल प्रमाण पत्र प्रदान गरिन् । पुरस्कार प्रदान गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन् ‘काठमाडौँको सुन्दरता हेर्न, काठमाडौँको जनजीवनसँग सम्बन्धित सुगन्ध महसुस गर्न र पाइलैपिच्छे भेटिने सांस्कृतिक ऐतिहासिक महत्वका सम्पदा र स्थानको विशेषता बुझाउन दौड आयोजना गरिएको हो ।

हिँड्दा स्थानको सौन्दर्यलाई जति महसुस गर्न सकिन्छ । गाडीमा हिँड्दा त्यस्तो महसुस गर्न पाइँदैन’ उनले भनिन्, ‘काठमाडौँमा बिहान जे देखिन्छ । जे पाइन्छ । दिनमा त्यो भन्दा छुट्टै परिवेश र साँझ तथा रातमा छुट्टै परिवेश हुन्छ । यो परिवेशलाई हिँडेरै मात्र महसुस गर्न र बुझ्न सकिन्छ । काठमाडौँको यो विशेषता हामी बुझाउन चाहन्छौँ । यसलाई प्रवर्धन गर्न हिँड्ने संस्कृतिको विकास गराउन चाहन्छौँ ।’ काठमाडौँ महानगरपालिकाले स्वस्थ सहर निर्माणका लागि खेलकुदलाई प्राथमिक योजनामा राखेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले, अहिले रचनात्मक उद्योग र काठमाडौँ फिल्म फेस्टिभलको सन्दर्भ पारेर दौड आयोजना गरिएको र यसबाट युवाहरुको आकर्षण रहेको बताए । दौडमा सबैभन्दा पाको उमेरका ७५ वर्षिय मंगलदास तण्डुकार सहभागी थिए । प्रतिस्पर्धामा सहभागी धावकलाई प्रवक्ता नविन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहित वडाध्यक्षहरुले फिनिसिङ् मेडल प्रदान गरे ।

त्यस क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले, काठमाडौँको मौलिक र जीवन्त पहिचानलाई चलचित्रमार्फत विश्व सामु लैजान चाहेको बताउँदै यसको प्रवर्धनका लागि दौडको आयोजना गरिएको बताउनुभयो । यस्तै विधायन समितिका संयोजक एवं वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले, वसन्तपुरसहित काठमाडौँका सांस्कृतिक सम्पदालाई पैदल मार्गबाट जोडिएको धारणा राखे । दौडका लागि १५२ जना महिला (२२%) र ५५२ जना पुरुष (७८%) गरी ७०४ जना धावकले नाम दर्ता गरेका थिए । नाम दर्ता गर्नेमध्ये तोकिएको अवधि भित्र नाम दर्ता गर्ने ५५० जनाका धावक थिए ।

सम्पदा दौड मार्गले महानगरपालिकाका वडा नं. १, ५, ७, ८, ९, ११, २२, २३, २४, २७, २८, २९ र ३० गरी १३ वटा वडा समेटेको थियो । महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले वीप हर्न बजाए पछि विहान ६ बजे दौड सुरु भएको थियो । वसन्तपुर डबलीबाट सुरु भएको दौड इन्द्रचोक पुगेको थियो । त्यसपछि असन, जमल, दरबार मार्ग महेन्द्र शालिकबाट नारायणहिटी संग्रहालयतर्फको सडकबाट नागपोखरी हुँदै नक्साल भगवती पुगेको थियो । त्यहाँबाट प्रहरी प्रधान कार्यालयतर्फको सडकबाट टंगाल माध्यमिक विद्यालय हुँदै गहनापोखरीबाट नरःदे (हाँडीगाउँ) डबलीतर्फ गएको थियो । डबलीबाट मालीगाउँ हुँदै दौड कालोपुल, कालोपुल उकालोबाट सिफल चौर, जयबागेश्वरी, गौशाला हुँदै रातोपुलतर्फ झरेर ज्ञानेश्वर नपुग्दै बायाँतर्फ मोडिएर मैतीदेवी पुगेको थियो ।

डिल्लीबजारबाट अगाडि बढेपछि पुतली सडक रामशाह पथ, पद्मोदय मोड पुगेपछि प्रदर्शनी मार्ग, भद्रकाली, सहिद गेट, धरहरा, खिचापोखरी, न्यूरोड हुँदै वसन्तपुर डबली पुगेर दौड सकिएको थियो । यो दौड काठमाडौँ फिल्म फेस्टिभलको पूर्व सन्ध्यामा गरिएको हो । महानगरपालिकाको आयोजनामा कार्तिक १३, १४ र १५ गते काठमाडौँ फिल्म फेस्टिभल आयोजना हुँदैछ । फेस्टिभलमा युथ च्यालेञ्ज, नेपाल पानोरामा र इन्टरनेशनल पानोरामा गरी ४० वटा चलचित्र, लघुचलचित्र र डकुमेन्ट्री प्रदर्शन गरिनेछन् । यस्तै रेड कार्पेट, मास्टर क्लास, प्यानल डिस्कसन, अवार्ड डिष्ट्रिब्युसन लगायत कार्यक्रम सञ्चालन हुनेछन् ।‍‍‍‍‍‍‍‍‍‍‍