लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

  • Image नेप्लेज
  • ३ कार्तिक २०८३, मङ्गलवार
  • 110 पटक हेरिएको
लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् ।

लिग-२ को एकै संस्करणमा १ हजारभन्दा बढी रन बनाउने उनी पहिलो नेपाली ब्याटर बनेका छन् ।

यसअघि कुनै पनि नेपाली ब्याटरले लिग-२ को एउटै संस्करणमा १ हजार रनको आँकडा छुन सकेका थिएनन् ।

रोहितको यो सफलतासँगै उनी लिग-२ को एकै संस्करणमा १ हजार रन पुरा गर्ने विश्वका चुनिएका उत्कृष्ट ब्याटरहरूको सूचीमा समावेश भएका छन् ।

रोहितले यो लिगका ३६ मध्ये ३५ खेलका ३२ इनिङ खेल्दा एक हजार ४ रन बनाएका हुन् । यो अवधिमा उनले दुई शतक र पाँच अर्धशतक बनाएका छन् ।

यस सूचीमा नाम लेखाउने अन्य खेलाडीमा नामिबियाका गेरहार्ड इरास्मस, पपुवा न्यूगिनीका असद भाला, अमेरिकाका आरोन जोन्स, ओमानका जतिन्दर सिंह, स्कटल्यान्डका काइल कोएत्जर, क्यालम म्याक्लियोड र जर्ज मुन्से, युएईका भृत्य अरविन्द तथा अमेरिकाका मिलिन्द कुमार, साईतेजा मुक्कामाल्ला र मोनांक पटेल रहेका छन् ।

यस्तै स्कटल्यान्डका ब्रेन्डन म्याकमुलन र नेदरल्यान्ड्सका म्याक्स ओ’डाउडले पनि यो उपलब्धि हासिल गरिसकेका छन् ।

अमेरिकाका कप्तान मोनांक पटेल लिग-२ का दुवै संस्करणमा १ हजारभन्दा बढी रन बनाउने एक मात्र ब्याटर हुन् ।

यस्तै, नेदरल्यान्ड्सका स्कट एडवर्ड्स (९२० रन) ले जारी संस्करणको अन्तिम राउन्डमा थप ८० रन जोडेमा यस विशिष्ट सूचीमा प्रवेश गर्ने सम्भावना रहेको छ ।