आईसीसी विश्वकप लिग–२ क्रिकेट : टस जितेर क्यानडाले नेपाललाई दियो ब्याटिङको निम्तो

  • Image नेप्लेज
  • २५ आश्विन २०८३, आइतवार
  • 96 पटक हेरिएको
आईसीसी विश्वकप लिग–२ क्रिकेट : टस जितेर क्यानडाले नेपाललाई दियो ब्याटिङको निम्तो

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आफ्नो अन्तिम शृंखलामा आइतबार नेपालले क्यानडाको सामना गर्दैछ ।

नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । ओमानमा जारी शृंखलामा नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार, बिहान ११:१५ बजे शुरू हुनेछ ।

जारी शृंखलामा नेपालले पहिलो र क्यानडाले दोस्रो खेल खेल्न लागेको हो । आफ्नो पहिलो खेलमा क्यानडाको टोली आयोजक ओमानसँग ४१ रनले पराजित भएको थियो ।

नेपाल र क्यानडा दुबैको अंक तालिकाको माथिल्लो चार स्थानभित्र रहेर आगामी एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोटमा सिधै स्थान बनाउने सम्भावना समाप्त भइसकेको छ । आठ राष्ट्र सहभागी लिग–२ तालिकाको माथिल्लो चार स्थानमा रहने टोली सिधै विश्वकपको अन्तिम चरणको छनोटमा पुग्ने प्रावधान छ ।

तालिकाको तल्लो चार स्थानमा रहने टोलीले भने विश्वकपको अन्तिम चरणको छनोटमा स्थान बनाउन प्ले–अफ खेल्नुपर्ने प्रावधान छ ।

हालसम्म ३४ खेल खेलेको अमेरिका ४७ अंकसहित पहिलो, ३६ खेलबाट ४५ अंक बटुलेको स्कटल्यान्ड दोस्रो र ३२ खेलबाट ३८ अंक हात पारेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् । यी तीनवटै टोलीले विश्वकपको अन्तिम चरणको छनोटमा स्थान बनाइसकेका छन् । अब बाँकी रहेको एक स्थानमा ओमान र नामिबियाबीच प्रतिस्पर्धा छ ।

यी दुई टोलीमध्ये ओमानको अगाडि बढ्ने सम्भावना निकै बलियो छ । संयुक्त अरब इमिरेट्स (यूएई)को पनि सिधै विश्वकपको अन्तिम चरणको छनोटमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । ओमान २९ खेलबाट ३३ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । ३५ खेलबाट ३१ अंक जोडेको नामिबिया पाँचौँ, ३३ खेलबाट २५ अंक हात पारेको क्यानडा छैटौँ, ३२ खेलबाट २४ अंक बटुलेको नेपाल सातौँ र ३१ खेलबाट १९ अंक जोडेको यूएई आठौँ स्थानमा छन् । आफ्नो अन्तिम खेलमा पराजित भए नामिबियाको पनि माथिल्लो चारभित्र पर्ने सम्भावना सकिनेछ ।

यस्तो स्थितिमा ओमान सजिलै अगाडि बढ्नेछ । जारी लिग–२ प्रतियोगितामा सहभागी सबै टोलीले ३६–३६ खेल खेल्ने प्रावधान छ । सोही अनुरुप अब नेपालले चार खेलमात्र खेल्न बाँकी छ । यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्वपूर्ण भूमिका रहन्छ । नेपालको त्यो सम्भावना भने अझै जीवित छ ।