सुर्खेत । कर्णाली याक्सले नेपाली एथलेटिक्सका पूर्वधावक तथा प्रशिक्षक हरिबहादुर रोकायालाई एक्स्ट्रिम कर्णाली याक्स हिरोजबाट सम्मानित गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही र कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गिहेन्द्र घिमिरेले रोकायालाई सम्मान गरे। सम्मान सहित रोकायालाई २ लाख ५० हजार प्रदान गरिएको छ। यो सँगै रोकाय कर्णाली याक्स हिरोजको रूपमा टिमको ब्रान्ड एम्बेसडर रहनेछन्।
कठिन भुगोल र संघर्षलाई छिचोल्दै रोकायाले स्कुल जीवनदेखि दौड सुरू गरे। यो उनको यात्रा ओलम्पिकसम्म पुग्यो। उनले १९८८ को सियोल र १९९२ को बार्सिलोना ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए। कुल ११ राष्ट्रिय स्वर्ण पदक जितेका रोकायाले दक्षिण एसियाली खेलकुदमा ५,००० मिटरमा कास्य पदक प्राप्त गरेका थिए।
एभरेष्ट म्याराथनमा गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका उनले तीन पटक उपाधि जितेका छन्। सन् १९९९ मा ३ घण्टा ५६ मिनेट १० सेकेन्डमा दौड पूरा गर्दै विश्व रेकर्ड बनाए। सन् २००० मा आफ्नै कीर्तिमान सुधार गरे। खेल जीवनपछि प्रशिक्षणमा होमिएका उनी कर्णालीमा हरि गुरूको रूपमा परिचित छन्।
उनले जुम्लाबाट राष्ट्रलाई विश्व रूपा बुढा राजन रोकाया, पुर्ण लक्ष्मी, ट्रेल रनर सानुमाय बुढा जस्ता खेलाडीलाई प्रशिक्षण दिएका छन्। उनले अहिले कर्णाली स्पोर्टस क्लब स्थापना गरेर निरन्तर प्रशिक्षण र अन्तराष्ट्रिय सहभागिता गराइराखेका छन। साथै रारा–जुम्ला अल्ट्रा म्याराथन समेत आयोजना गर्ने गरेका छन्।
क्लब स्थापनाका लागि आफ्नै जग्गा प्रयोग गरे। मिल चलाएर खेलाडीहरूको आवश्यकता पुरा गरिरहेका छन्। यीनै कीर्तिमानी धावक रोकायालाई यो सम्मान प्रदान गरिएको हो। सम्मानको लागि रोकायाले कर्णाली याक्सलाई धन्यवाद दिए। उनले प्राप्त गर्ने रकम जुम्लाको खेलाडीको प्रशिक्षण लगायतमा प्रयोग गर्ने बताए।
उनले जुम्लामा हाइ अल्टिच्युयट ट्रेनिङ सेन्टरको लागि लामो समयको पहलले पनि संभव नभएको भन्दै नेपाली खेलाडी कै लागि सो सेन्टर जरूरी भएको बताए। कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले रोकाया खेल क्षेत्रको प्रेरणादायी व्यक्तित्व रहेको बताए। व्यक्तिगत खर्चमा खेलाडी उत्पादन गरिरहेका रोकायालाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। कार्यक्रममा कर्णाली याक्सका अध्यक्ष गिहेन्द्र घिमिरेले कर्णाली याक्स क्रिकेट टिम भए पनि आफ्नो सम्बन्ध क्रिकेट मैदानमा मात्र सीमित नरहेको बताए।
उनले कर्णालीका प्रतिभा, युवा र समुदायसँग जोडिँदै कर्णाली याक्सलाई कर्णालीका सबैले आफ्नै टिमका रूपमा स्थापित गर्ने उद्देश्य रहेको बताए। कर्णाली प्रदेश सरकार, खेलकुद क्षेत्र, क्रिकेट संघ, निजी क्षेत्र, सञ्चारमाध्यम र आम कर्णालीवासीको सहकार्यबाट मात्र यो उद्देश्य पूरा गर्न सकिने उनको भनाइ थियो।
कार्यक्रममा कर्णाली समाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य– सचिव राम चरित्र मेहता, कर्णाली प्रदेश खेलाकुद विकास परिषदका उपाध्यक्ष प्रपमोद हमाल र सदस्य–सचिव रविन्द्र चन्दको उपस्थिति रहेको थियो ।