काठमाडौं । सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजनाअनुसार २७ वटा क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गर्ने भएको छ। यसका लागि पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
सोमबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्को नियमित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले देशको खेलकुद क्षेत्रको विकासका लागि परियोजना अघि बढाइएको बताए।
उनका अनुसार प्रारम्भिक चरणमा देशका विभिन्न स्थानमा छनोट गरिएका २७ आयोजनाको निर्माण कार्य अघि बढाइनेछ। लामो समयदेखि रोकिएका तथा गति लिन नसकेका खेलकुद पूर्वाधारसम्बन्धी आयोजनालाई अघि बढाउन एमओयू महत्वपूर्ण हुने सरकारको अपेक्षा छ।
मन्त्री पोखरेलले देशभरका सबै रंगशाला र खेल पूर्वाधारलाई एकैपटक स्तरोन्नति गर्न बजेट तथा प्राविधिक सीमितता रहेकाले प्राथमिकताका आधारमा २७ आयोजनाबाट काम सुरु गर्न लागिएको बताए। ‘देशभरका सबै खेल पूर्वाधार एकैपटक निर्माण गर्न सम्भव नभए पनि २७ वटा आयोजनाबाट सुरु गर्नु महत्वपूर्ण सुरुआत हो,’ उनले भने।
सरकारका अनुसार नयाँ खेल पूर्वाधार निर्माण भएपछि स्थानीय तथा क्षेत्रीय स्तरमा खेल गतिविधि विस्तार गर्न सहज हुनेछ। यसबाट खेलाडीलाई अभ्यास तथा प्रतियोगिताका लागि आवश्यक संरचना उपलब्ध हुने अपेक्षा गरिएको छ। सरकारले आगामी दिनमा थप खेलकुद पूर्वाधारमा लगानी विस्तार गर्ने नीति लिएको पनि मन्त्री पोखरेलले बताए।
छनोट भएका स्थानमा निर्माण कार्य तत्काल सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको उनले जानकारी दिए।