क्रोएसियामाथि स्पेनको फराकिलो जित

  • Image नेप्लेज
  • १४ आश्विन २०८३, बुधवार
  • 93 पटक हेरिएको
क्रोएसियामाथि स्पेनको फराकिलो जित

काठमाडौं । स्पेनले युरोपेली नेसन्स लिगको समूह चरणमा क्रोएसियामाथि ४-१ गोलको शानदार जित निकालेको छ ।

सेभियामा भएको खेलमा स्पेनले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो ।

खेल सुरु भएको दुई मिनेटमै लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । फर्मिन लोपेजको चलाखीपूर्ण पासपछि यामालले क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचलाई छक्याउँदै गोल गरेका थिए । तर क्रोएसियाले पहिलो हाफमै खेल बराबरीमा ल्यायो । इभान पेरिसिचको क्रसमा डियोन बेल्जोले हेडमार्फत गोल गर्दै अन्तर्राष्ट्रिय खेलमा आफ्नो पहिलो गोल गरेका थिए ।

स्पेनले त्यसको दुई मिनेटमै पुनः अग्रता लियो । यामालको उत्कृष्ट पासमा मार्क पुबिलले हेडमार्फत गोल गर्दै स्पेनलाई २–१ ले अघि बढाए । त्यसपछि यामालले खेलको ३४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे । पेड्रीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै यामालले नजिकैबाट गोल गरेका थिए ।

खेलको अन्तिमतिर निको विलियम्सले ८९औँ मिनेटमा स्पेनका लागि चौथो गोल गरे । उनले क्रोएसियाको डिबक्सभित्र बल नियन्त्रणमा लिएर शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए । यससँगै स्पेनले नेसन्स लिगको नयाँ सत्रमा लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा स्पेनले इंग्ल्यान्डलाई ३–२ गोलले पराजित गरेको थियो ।