काठमाडौं । दोस्रो काठमाडौं –१० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगितामा खोटाङका धिरेन राईले उपाधि जितेका छन् ।
स्विस लिग प्रणालीमा नौ चरणमा आयोजना भएको सो प्रतियोगितामा धिरेनले ८ दशमलव ५ अंक जोडे । झापाका ज्वाला लिम्बुले ८ अङ्क सहित दोस्रो स्थान पाए ।
मकवानपुरका क्षितिज भण्डारी ७ दशमलव ५ अङ्क सहित तेस्रो भए । समान अङ्क भएका भक्तपुरका निकेन कुसाथा चौथो भए । यसै गरी रौतहटका सुमन लामा पाँचौँ तथा राजेन्द्र प्रसाद श्रेष्ठ छैटौँ भए ।
दुई दिने सो प्रतियोगितामा ७ अङ्क भएका रिसन थापा, मिसन दाहाल, शैलेन्द्र न्यौपाने र प्रकाश चन्द्र नेपाल शीर्ष १० स्थानमा रहे ।
काठमाडौं महानगरपालिका –१० को आयोजनामा नयाँ बानेश्वरमा भएको प्रतियोगितामा २ सय २० खेलाडीको सहभागिता थियो ।
प्रतियोगिताको उपाधि विजेताले २६ हजार २ सय ५० तथा उपविजयीले २२ हजार ५ सय रुपैयाँ पुरस्कार पाए । तेस्रो हुनेले १८ हजार तथा चौथो हुनेले ११ हजार २ सय ५० रुपैयाँ पुरस्कार पाए पाँचौँ देखि १० औ स्थान पाउनेले ७ हजार ५ सय रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताका विजेता खेलाडीलाई आयोजक वडाका अध्यक्ष राम कुमार केसी, सचिव सुबोध खड्का तथा प्रतियोगिता निर्देशक इन्द्र कुमार बस्नेत लगायतले पुरस्कार प्रदान गरे ।