काठमाडाैं। पूर्वाधार विकास मन्त्रालयले देशभर फुटबल, क्रिकेट र इन्डोर खेलकुदका २८ वटा पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने भएको छ।
खेलकुद पूर्वाधार निर्माण, सहजीकरण, स्वामित्व हस्तान्तरण तथा सञ्चालनलाई व्यवस्थित बनाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच बिहीबार सम्झौता भएको छ। सम्झौतापत्रमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार पूर्वाधार विकास मन्त्रालयले खेलकुद पूर्वाधार निर्माणसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्नेछ भने निर्माण सम्पन्न भएका पूर्वाधारको सञ्चालन राष्ट्रिय खेलकुद परिषद्ले गर्नेछ। पूर्वाधारको स्वामित्व हस्तान्तरण र सञ्चालनको स्पष्ट मोडालिटी नहुँदा विगतमा निर्माण भएका कतिपय खेलकुद पूर्वाधार प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै परिषद्सँग आवश्यक समन्वय गरेर खेलकुद पूर्वाधार निर्माणको काम अघि बढाउन लागिएको हो ।
फुटबलका लागि देशका मुख्य १० शहरमा नयाँ निर्माण तथा स्तरोन्नतिमार्फत रंगशाला विकास गरिनेछ। त्यस्तै, प्रत्येक प्रदेशबाट फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सहभागी हुने टोलीलाई सहयोग पुग्ने गरी ८ हजार दर्शक क्षमताका फ्लडलाइटसहितका क्रिकेट पूर्वाधार निर्माण गरिनेछ। प्रत्येक प्रदेशमा भलिबल, बास्केटबल र कबड्डीलगायतका फ्रेन्चाइज इभेन्ट सञ्चालन गर्न सकिने बहुउद्देश्यीय इन्डोर स्टेडियम निर्माणका लागि समेत बजेट विनियोजन गरिएको छ।
फुटबलतर्फ झापाको भद्रपुरस्थित मेची रंगशाला, झापाकै आदिवासी जनजाति रंगशाला, पर्साको वीरगञ्जस्थित नारायणी रंगशाला, चितवन रंगशाला, बाँकेको नेपालगञ्ज रंगशाला, सुर्खेत रंगशाला, कैलालीको धनगढी रंगशाला, काठमाडौंको दशरथ रंगशाला, कास्कीको पोखरा रंगशाला, रुपन्देहीको बुटवल एन्फा कम्प्लेक्स, मोरङको शहीद रंगशाला, सुनसरीको धरान रंगशाला र बाँकेको कोहलपुर फुटबल रंगशालाको निर्माण तथा स्तरोन्नति गरिनेछ।
क्रिकेटतर्फ जनकपुरस्थित रामजानकी क्रिकेट रंगशाला, विराटनगरस्थित बैजनाथपुर क्रिकेट रंगशाला, बाँकेको कोहलपुरस्थित शहीद सुलभ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सुर्खेतस्थित चाँदनी चोक क्रिकेट रंगशाला, धनगढीस्थित फाप्ला क्रिकेट रंगशाला, काठमाडौंस्थित तल्लो मुलपानी क्रिकेट रंगशाला, कास्कीस्थित पोखरा क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालाको निर्माण तथा स्तरोन्नति गरिनेछ।
भलिबल, बास्केटबल, कबड्डीलगायतका इन्डोर खेलका फ्रेन्चाइज प्रतियोगिता सञ्चालन गर्न सकिने गरी सातै प्रदेशमा बहुउद्देश्यीय इन्डोर स्टेडियम निर्माण गरिनेछ। लुम्बिनी प्रदेशमा बुटवल, गण्डकी प्रदेशमा पोखरा रंगशाला, मधेश प्रदेशमा सिरहाको लहान, कोशी प्रदेशमा मोरङको विराटनगर, कर्णाली प्रदेशमा कर्णाली प्रदेश रंगशाला, सुदूरपश्चिम प्रदेशमा फाप्ला खेलग्राम र बागमती प्रदेशमा काठमाडौंमा बहुउद्देश्यीय इन्डोर स्टेडियम निर्माण गरिनेछ।
देशका मुख्य शहर र प्रत्येक प्रदेशलाई लक्षित गरेर तयार गर्न लागिएको खेलकुद पूर्वाधारले नेपालको व्यवसायीक खेलकुदको विकासमा ठोस योगदान गर्ने लक्ष्य सरकारले राखेको छ ।