काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले आगामी तेस्रो संस्करणका लागि सेन्चुरी ब्रान्डसँग प्रायोजन सम्झौता गरेको छ।
दुगड स्पाइसेज एन्ड फुड प्रडक्ट्स प्रालिको लोकप्रिय ब्रान्ड सेन्चुरी काठमाडौं गोर्खाजको प्रायोजकका रूपमा जोडिएको हो।
सम्झौताअनुसार एनपिएल सिजन ३ को अवधिभर टोलीको आधिकारिक जर्सीको छाती तथा खेलाडीको हेल्मेट र क्यापमा सेन्चुरीको लोगो रहनेछ।
काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले सेन्चुरीलाई टोलीको परिवारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। उनले सेन्चुरी नेपालमा स्थापित र विश्वासिलो ब्रान्ड रहेको उल्लेख गर्दै साझेदारीले नेपाली उद्यम र खेलकुदबीचको सहकार्यलाई थप बलियो बनाउने बताए।
दुगड स्पाइसेज एन्ड फुड प्रडक्ट्सका प्रबन्ध निर्देशक आदित्य दुगडले क्रिकेटले नेपालीलाई एउटै भावनामा जोड्ने गरेको उल्लेख गर्दै काठमाडौं गोर्खाजसँगको साझेदारीले देशभरका क्रिकेट समर्थकसँग जोडिन अवसर प्रदान गर्ने बताए।
काठमाडौं गोर्खाज एनपिएलमा प्रतिस्पर्धा गर्ने व्यावसायिक फ्रेन्चाइज टोली हो। टोलीले घरेलु क्रिकेटमा उत्कृष्ट प्रतिभालाई अघि बढाउँदै काठमाडौंको प्रतिनिधित्व गर्दै आएको छ। दुगड स्पाइसेज एन्ड फुड प्रडक्ट्स खाद्यान्न तथा एफएमसीजी क्षेत्रमा सक्रिय कम्पनी हो। कम्पनीको सेन्चुरी ब्रान्डअन्तर्गत मसला, प्याकेज गरिएका खाद्य सामग्रीलगायत उत्पादन बजारमा उपलब्ध छन्।