काठमाडौं। २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा चीनले घरेलु टोली जापानलाई सोझो सेटमा हराउँदै स्वर्ण पदक जितेको छ।
मंगलबार कोमाकीस्थित पार्क एरिना कोमाकीमा भएको फाइनलमा चीनले जापानलाई २५–१९, २५–२० र २५–२३ ले हराउँदै स्वर्ण जितेको हो।
चीनले प्रतियोगिताको सुरुवातदेखि नै प्रभावशाली प्रदर्शन गरेको थियो। समूह ‘बी’ मा रहेको चीनले पहिलो खेलमा फिलिपिन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। चीनले उक्त खेल २५–१८, २५–२२ र २५–८ ले जितेको थियो।
त्यसपछि चीनले समूह चरणको अन्तिम खेलमा काजकिस्तानलाई पनि ३–० ले पराजित गर्यो। चीनले काजकिस्तानमाथि २५–१८, २५–६ र २५–१४ को जित निकालेको थियो।
दुई खेलमा शतप्रतिशत जितसहित चीन समूह ‘बी’ को विजेता बनेर क्वार्टरफाइनल पुगेको थियो। काजकिस्तान दोस्रो हुँदै अन्तिम आठमा पुगेको थियो।
क्वार्टरफाइनलमा चीनले भियतनामलाई ३–० ले हरायो। चीनले भियतनामविरुद्ध २५–१६, २५–१६ र २५–११ को सहज जित निकालेको थियो।
सेमिफाइनलमा भने चीनले थाइल्यान्डसँग कडा चुनौतीको सामना गर्यो। पाँच सेटसम्म चलेको खेलमा चीनले थाइल्यान्डलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनायो। थाइल्यान्डले पहिलो सेट २५–२३ ले जिते पनि चीनले त्यसपछि लगातार दुई सेट २५–२१ र २५–११ ले जितेको थियो। चौथो सेट थाइल्यान्डले २८–२६ ले आफ्नो पक्षमा पारेपछि निर्णायक पाँचौँ सेटमा चीनले १५–६ को जित निकाल्यो।
फाइनलमा चीनले जापानविरुद्ध सुरुदेखि नै दबाब कायम राख्यो। पहिलो दुई सेट क्रमशः २५–१९ र २५–२० ले जितेको चीनले तेस्रो सेटमा जापानको चुनौती २५–२३ ले समाप्त गर्दै स्वर्ण पक्का गर्यो।