नेपालको महिला कबड्डी टोलीले थाइल्यान्डमाथि रोमाञ्चक जितसँगै जारी २०औं एसियाली खेलकुदको यात्रा सुरु गरेको छ।
टोकाई सिटिजेन जिम्नाजियममा मंगलबार थाइल्यान्डमाथि ४६-४३ को रोमाञ्चक जितसँगै नेपालले जापानमा जारी २०औं एसियाली खेलकुदको यात्रा सुरु गरेको छ।
खराब सुरुआत गरे पनि उत्कृष्ट पुनरागमन गर्दै नेपाली टोलीले जित रचेको हो। समूह ‘बी’ को पहिलो खेलमा नेपालले थाइल्यान्डलाई सहजै हराउने अनुमान गरिएको थियो।
यद्यपि, थाइल्यान्डले सुरुदेखि चुनौती दिँदै अन्तिम सिठ्ठीसम्म नेपाललाई दबाबमा राख्यो। अन्तिम समयमा समालिन नसक्दा हार बेहोर्यो। थाइल्यान्डको दोस्रो खेलमा पहिलो हार हो।
नेपालको डिफेन्स चल्न नसक्दा थाइल्यान्डले त्यसको फाइदा उठायो। दोस्रो हाफमा भने नेपाली खेलाडीले सुधारिएको प्रदर्शन गर्दै स्कोर भेट्टाउन धेरै मेहनत गरे। अन्ततः खेल सकिन तीन मिनेट बाँकी छँदा मात्र नेपालले भेट्टायो। ३९-३९ को स्थितिमा नेपालले बराबरी गरेको हो। थाइल्यान्डकी रेडर इदाम पावारिसिलाई रोक्दै अंक बराबरी गर्यो। लगत्तै रेडबाट नेपालले अंक बटुल्दै खेलमा पहिलोपल्ट अंक लियो।
खेलमा पछि परेसँगै थाइल्यान्डका खेलाडी तीव्र गतिमा खेलमा फर्कने प्रयास गरे। तर, नेपाली टोलीले डिफेन्समा सुधार गर्दै विपक्षीको प्रयास सम्भव हुन दिएन। खेल अवधिभर नेपालले बोनस पोइन्टकै सहारामा थाइल्यान्डलाई पछ्याइ रह्यो।
पहिलो हाफमा नेपालले अफेन्स र डिफेन्स दुवैमा खराब प्रदर्शन गर्यो। यस क्रममा दुई पल्टसम्म अलआउट हुन पुग्यो। हतास देखिएको नेपालले खेलको सुरुआत देखि नै दबाब महसुस गर्यो। पहिलो हाफमा २४-१५ ले पछि पर्यो। पहिलो हाफमा पनि बोनस अंकको मद्दतमा नेपालले थाइल्यान्डलाई पछ्याइको हो। त्यसअघि बोनस अंक दिलाउँदै रबिना चौधरीलाई नेपाललाई साथ दिइरहेकी थिइन्। खेलमा फर्कने क्रममा नेपाली टोलीले रणनीति परिवर्तन गर्यो।
पूर्वकप्तान मेनुकाकुमारी राजवंशीले कर्नरबाट कभरमा र कप्तान मानमति विष्टले कभरबाट कर्नर साइडमा परिवर्तन गरे। यो रणनीतिपछि नेपाल थप बलियो भयो र डिफेन्समा सुधार आयो। यससँगै दोस्रो हाफमा नेपाली टोलीले थाइल्यान्डलाई दुई पल्ट अलआउट गर्न सफल भयो। अग्रता लिँदा थाइल्यान्डले पनि बोनस पोइन्टमा ध्यान दियो। दोस्रो हाफमा दुवैतर्फm समान ८/८ बोनस पोइन्ट रह्यो।
अन्तिम ६ मिनेट नेपाली टोलीले लगातार दबाब बनायो। जहाँबाट नेपाल खेलमा फर्कन सफल पनि भयो। यस क्रममा दोस्रो हाफ नेपालको पक्षमा ३१-१९ रह्यो। नेपालको जितमा रेडर रबिना चौधरीले उत्कृष्ट प्रदर्शन गरिन्।
समूह ‘बी’ नेपाल र थाइल्यान्डसँगै श्रीलंका र चाइनिज ताइपेइ छन्। थाइल्यान्डले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। अब नेपालले दोस्रो खेल बुधबार चाइनिज ताइपेइसँग खेल्नेछ। यो खेल जितमा चार राष्ट्र रहेको समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ । अर्को समूह ‘ए’ मा भारत, इरान, बंगलादेश र जापान छ।