काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) सिजन-१ को उपाधि विजेता अन्नपूर्ण स्पाइकर किंग्सले आयोजना गरेको विशेष ट्रफी टुर ‘गौरवको यात्रा’ अन्नपूर्ण बेस क्याम्पमा पुगेर सम्पन्न भएको छ।
ऐतिहासिक उपाधि जितेको खुसी समर्थक तथा सर्वसाधारणसँग साट्ने उद्देश्यले आयोजना गरिएको तीनदिने विजय यात्राका क्रममा नेपाल भलिबल लिग सिजन-१ को ट्रफी विभिन्न स्थानमा पुर्याइएको थियो।
यात्राको अन्तिम गन्तव्यका रूपमा ट्रफीलाई सोमबार, सेप्टेम्बर २१ को बिहान हेलिकप्टरमार्फत समुद्री सतहबाट ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्प पुर्याइएको हो।

अन्नपूर्णका गण्डकी संयोजक पोषण मणि त्रिपाठीको समन्वयमा सुरु भएको ‘गौरवको यात्रा’ सेप्टेम्बर १९ शनिबार स्याङ्जा, दमौली र भिमाद हुँदै अघि बढेको थियो ।
यात्राका क्रममा विभिन्न स्थानमा स्थानीय बासिन्दा, समर्थक तथा भलिबलप्रेमीहरूले ट्रफीको स्वागत गरेका थिए। यात्राको दोस्रो दिन सेप्टेम्बर २० मा बागलुङस्थित प्रसिद्ध कालिका मन्दिरमा दर्शन गरिएको थियो। त्यसपछि पर्वतको कुश्मा हुँदै पोखरा परिक्रमा गरिएको थियो।
विभिन्न जिल्लामा ट्रफी प्रदर्शन गर्दै समर्थकहरूसँग उपाधिको खुसी साटिएको आयोजकले जनाएको छ। ट्रफी टुरको अन्तिम चरणमा अन्नपूर्ण बेस क्याम्पमा एएसकेकी अध्यक्ष मीना लिम्बु त्रिपाठी, गण्डकी संयोजक पोषण मणि त्रिपाठी, एग्रो थाई फुड्स तथा एक्सट्रिम इनर्जी ड्रिंककी ब्रान्ड हेड प्रतिशा कर्माचार्य र प्रोडक्सन टोलीका प्रितम नेपालीको उपस्थिति रहेको थियो।
अन्नपूर्ण बेस क्याम्पमा माछापुच्छ्रे, अन्नपूर्ण साउथ र हिमचुलीलगायतका हिमशृङ्खलाको पृष्ठभूमिमा अन्नपूर्ण हिमालप्रति सम्मान व्यक्त गर्दै ट्रफी टुरको समापन गरिएको थियो। आयोजकका अनुसार ‘गौरवको यात्रा’ को उद्देश्य भलिबलको ऐतिहासिक जितको खुसी मनाउनुका साथै चारवटा महत्वपूर्ण सन्देश प्रवाह गर्नु हो।

अभियानमार्फत ‘गण्डकीको गौरव’, ‘एएसके रसुवाको साथमा छ’, ‘दुई टोली एक सपना’ र ‘हिमाल र हिमतालहरू बचाऔँ’ भन्ने सन्देश अघि सारिएको थियो। ‘गण्डकीको गौरव’ मार्फत गण्डकी प्रदेशको पहिचान र गौरवलाई उजागर गर्ने, ‘एएसके रसुवाको साथमा छ’ मार्फत ऐक्यबद्धता जनाउने, ‘दुई टोली एक सपना’ मार्फत एकताको सन्देश दिने तथा ‘हिमाल र हिमतालहरू बचाऔँ’ मार्फत हिमाली क्षेत्र र वातावरण संरक्षणबारे जनचेतना फैलाउने उद्देश्य अभियानले राखेको आयोजकको भनाइ छ। एएसकेले ट्रफी यात्राका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहभागी हुने, विभिन्न स्थानमा स्वागत गर्ने समर्थक, स्थानीय बासिन्दा, मन्दिरका भक्तजन, पर्यटन व्यवसायी तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरेको छ।
नेपाल भलिबल लिग सिजन-१ को उपाधिलाई विभिन्न भूगोल र समुदायसँग जोड्दै अन्नपूर्ण बेस क्याम्पसम्म पुर्याएको ‘गौरवको यात्रा’ ले खेलकुदसँगै पर्यटन, एकता र वातावरण संरक्षणको सन्देशसमेत प्रवाह गरेको आयोजकले जनाएको छ।