सात वर्षदेखि अपराजित रत्नजीत

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-०२
  • |
  • 249 पटक हेरिएको

नेप्लेज, २ मंसिर । १२ वर्ष, २६ राष्ट्रिय उपाधि, सात वर्षदेखि अपराजित । नेपाली ब्याटमिन्टनका रत्नजीत । नामजस्तै उनी हार्न जानेका छैनन् । सिनियर प्रतियोगितामा २०६३ सालमा डेब्यू गर्दा उनी १५ वर्षका थिए । बिकास श्रेष्ठ, पशुपति पनेरु, बलराम थापा लगायतको आधिपत्य रहेको नेपाली ब्याटमिन्टनले उनको आगमनसँगै नयाँ मोड लियो ।

भोजपुरका २६ वर्षीय रत्नजीत तामाङ नेपाली ब्याटमिन्टनका आइकन हुन् । शनिबार सम्पन्न पुष्पलाल स्मृति राष्ट्रिय ब्याटमिन्टनमा नेपाल नम्बर एक रत्नजीतले पुरुष एकलमा करिअरको २६औं र प्रतियोगितामा लगातार सातौं उपाधी जिते ।

१५ वर्षअघि पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगिता खेलेका रत्नजीतको सिनियर करिअर २०६३ सालमा भएको ३०औं राष्ट्रिय च्याम्पियनसिपबाट भयो । प्रतियोगिता चितवनमा भएको थियो । एक्स्पोजर र उमेरका कारण उनको प्रदर्शन सोचेजस्तो भएन ।

दिदी सरादेवी तामाङ त्यतिबेलै नेपाल च्याम्पियन भइसकेकी थिइन् भने दिदीको छायामा परेकी अर्की दिदी नङशलको पनि सिनियर करिअरले गति लिइसकेको थियो । ‘व्याटमिन्टन परिवार’मा हुर्किएका रत्नजीतको करिअरले भने २०६६ सालपछि गति लिन थाल्यो ।

२०६६ सालमा प्रहरी दिवसको उपलक्ष्यमा भएको राष्ट्रिय ब्याटमिन्टनमा उनले सिनियरतर्फ पहिलो स्वर्ण जिते । त्यसयता उनलाई रोक्न बिपक्षीलाई मुस्किल हुन थाल्यो । मुख्य गरी एपीएफका दिपेश धामीसँग रत्नजीतको प्रतिस्पर्धा रोमाञ्चक बन्यो । हरेक प्रतियोगिताको फाइनलमा यी दुईको स्थानले उनीहरुलाई चीरपरिचित बनायो ।

जुनियर टिमबाट दक्षिण कोरिया टूरमा गएका कारण पाँचौं राष्ट्रिय खेलकुद गुमाएका रत्नजीतले २०६८ सालको छैटौं राष्ट्रिय प्रतियोगितामा सिंगल्समा उपाधिबिहीन भए । पुरुष डवल्स र मिक्स्ड डवल्समा उपाधि जितेका उनले पुरुष सिंगल्समा उनै दिपेशसँग पराजय ब्यहोरे ।

त्यसयता भने नेपाली ब्याटमिन्टनमा रत्नजीतको एकछत्र राज भयो । बरियता छुट्याउने राष्ट्रिय च्याम्पियनसिपदेखि पुष्पलाल स्मृति र कृष्णमोहन स्मृति ब्याटमिन्टनमा उनलाई अहिलेसम्म कसैले हराउन सकेका छैनन् । २०७३ सालमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा उनले आफू सहभागी भएका चारै स्पर्धामा स्वर्ण जिते ।

सिंगल्समा उनको अहिलेसम्म २६ उपाधि छ । नेपालमा आयोजना हुने सबै राष्ट्रिय प्रतियोगिताको उपाधि जितेका रत्नजीतले दिदी नङशलसँग मिलेर मिक्स्ड डवल्सको पनि प्रायः सबै उपाधि जितेका छन् ।

चार वर्षयता नेपाली सेनामा रहेका रत्नजीतले सेनाको सान त राखेकै छन् नेपालको शान पनि राखेका छन् । दिदी नङशलसँग मिलेर उनले पाकिस्तान ब्याटमिन्टन सिरिजमा स्वर्ण जिते । जुन नेपाली ब्याटमिन्टन इतिहासकै ऐतिहासिक उपाधि हो ।

आगामी डिसेम्बरमा नेपाल इन्टरनेशनल च्याम्पियनसिप हुँदैछ । घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने धोको पूरा गर्ने तयारीमा उनी लागेका छन् । भर्खर २६ वर्ष भएका रत्नजीत करिअरको उच्च लयमा छन् । आठौं राष्ट्रिय खेलकुद आउँदैछ । त्यसपछि १३औं दक्षिण एशियाली खेलकुद हुँदैछ । नेपाली ब्याटमिन्टनले अझै केहि वर्ष उनीबाट धेरै अपेक्षा गर्नेछ । उनको एउटै योजना छ अन्तराष्ट्रिय स्तरमा नेपाली ब्याटमिन्टनको दायरा फराकिलो बनाउने ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey