काठमाडौँ । ‘रेड बुल एभरेष्ट महिला भलिबल लिग’ को तेस्रो संस्करण आगामी पुस ६ देखि १५ गते, २०८३ (सन् २०२६ डिसेम्बर २१ देखि ३०) सम्म आयोजना हुने भएको छ। दश दिनसम्म चल्ने यो प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ।
प्रतियोगिताको मिति नेपाल भलिबल संघ (NVA) बाट आधिकारिक रूपमा स्वीकृत भइसकेको छ भने खेल स्थलका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृति प्रदान गरेको छ। यी दुवै सर्वोच्च निकायको साथ र समर्थनले यस लिगलाई नेपाली खेलकुद क्यालेन्डरको एक महत्त्वपूर्ण र प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित गरेको छ।
यसपटक आगामी तीन संस्करणका लागि विश्वप्रसिद्ध ब्रान्ड ‘रेड बुल’ लिगको मुख्य प्रायोजक (Title Sponsor) का रूपमा जोडिएको छ। रेड बुलको आगमनसँगै लिगको तेस्रो सिजन विगतभन्दा अझ रोमाञ्चक, तीव्र र ऊर्जावान् हुने अपेक्षा गरिएको छ, जसको प्रत्यक्ष अनुभव कोर्टमा उत्रिने खेलाडीदेखि दर्शकदीर्घासम्मले गर्नेछन्।
स्थापनाकालदेखि नै एभरेष्ट महिला भलिबल लिगले नेपाली महिला खेलाडीहरूलाई व्यावसायिक स्तरमा प्रतिस्पर्धा गर्न, आफ्नो खेल कौशल निखार्न र नयाँ पुस्तालाई प्रेरित गर्न सशक्त मञ्च प्रदान गर्दै आएको छ। रेड बुलको साझेदारीले नेपाली महिला भलिबललाई अझ व्यावसायिक उचाइ र फराकिलो दर्शकवर्गमाझ पुर्याउने लक्ष्य लिएको छ।
प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका, खेलाडी र टिकटसम्बन्धी विस्तृत विवरण आगामी दिनमा सार्वजनिक गरिनेछ।