काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रन बनाए। उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, थारिन्दु रत्नायकेले अविजित २६ तथा आरिफ शेखले १६ रन जोडे।
सुदूरपश्चिमको सुरुवात भने निकै खराब रह्यो। टोलीले केवल ८ रन जोड्दा चार विकेट गुमाएको थियो। त्यसपछि दीपेन्द्र र आरिफले पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गर्दै टोलीलाई सम्हालेका थिए।
काठमाडौंका लागि जहान्दाद खानले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए। सन्तोष यादवले २ विकेट हात पारे।