काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले २४ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ८८ रन बनाएको छ।
अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका बशिर अहमद र रोहित पाैडेल क्रिजमा छन्। अर्जुन कुमाल र इशान पाण्डे भर्खर मात्र आउट भएका छन्।
कुमालले ५९ बलमा चार चौकासहित ४० रन बनाए। पाण्डे पनि भर्खर मात्र ५५ बलमा ४ चौकासहित ३७ रन बनाएर आउट भएका छन्।
नेपालले पहिलो विकेटका रूपमा आसिफ शेखलाई गुमाएको थियो। उनी १५ बलमा चार रन बनाएर आउट भएका थिए। उनलाई ओमानका शाह फैसलले जय ओडेद्राको हातबाट क्याच गराएका थिए।
नेपालले ६.१ ओभरमा १७ रन हुँदा पहिलो विकेट गुमाएको थियो। ओमानका लागि लगातार दुइ ओभरमा शाकिल अहमद र करण सोनावलेले पनि विकेट लिएपछि नेपाल दबाबमा परेको छ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सुन्दीप जोरालगायतका खेलाडी ब्याटिङमा आउन बाँकी छन्। नेपालले बाँकी ओभरमा रन गति बढाउँदै प्रतिस्पर्धात्मक योगफल बनाउने लक्ष्य राखेको छ।