मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबलमा पुलिसको लगातार दोस्रो जित

  • Image नेप्लेज
  • १४ आश्विन २०८३, बुधवार
  • 75 पटक हेरिएको
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबलमा पुलिसको लगातार दोस्रो जित

काठमाडौँ, असोज १४ गते । विभागीय टोली नेपाल पुलिस क्लबले बुटवलमा जारी मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । 

बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा बुधबार भएको खेलमा पुलिसले खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा हरायो । पुलिसले खैरामाथि २६–२४, २६–२४, २०–२५, २५–१९ को नतिजा निकाल्यो । समूह ‘ए’ मा लगातार दोस्रो जितसँगै पुलिसको सेमिफाइनल सम्भावना बलियो बनेको छ । 

यसै समूहको अर्को खेलमा मणिमुकुन्द भलिबल क्लबले श्रीलंका पुलिस क्लबलाई ३–० को सेटमा हरायो । मणिमुकुन्दले श्रीलंका पुलिसमाथि २५–१९, २५–२०, २५–१६ को जित निकाल्यो । मणिमुकुन्दभलिबल क्लबको यो पहिलो जित हो । श्रीलंकाको यो लगातार दोस्रो हार हो । समूहको पहिलो खेलमा श्रीलंकन टोली नेपाल पुलिस क्लबसँग ३–० को सेटमा पराजित भएको थियो ।

यस्तै समूह ‘बी’ अन्तर्गत बुधबार भएको खेलमा सभापोखरी भलिबल क्लबले भारतको गुजराज स्र्पोटिङ क्लबलाई ३–० को सोझो सेटमा हरायो । भारतीय खेलाडीकै बर्चस्व रहेको सभापोखरी क्लबले गुजराजमाथि २५–१८, २५–१३, २५–२१ को जित निकालेको थियो । मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा विदेशका तीन र नेपालको चार गरी सात टोलीको सहभागिता रहेको छ । असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 

यस्तै तेस्रो हुनेलाई एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, ब्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएको छ ।