विश्वकप फाइनलपछि भएको झडपबारे अर्जेन्टिनामाथि फिफाले अनुसन्धान गर्दै

  • Image नेप्लेज
  • ५ श्रावण २०८३, मङ्गलवार
  • 1489 पटक हेरिएको
विश्वकप फाइनलपछि भएको झडपबारे अर्जेन्टिनामाथि फिफाले अनुसन्धान गर्दै

विश्वकप फुटबलको फाइनलपछि भएको विवादास्पद घटनाबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान सुरु गरेको छ ।

फिफाले फाइनल समाप्तिपछि अमेरिकाको मेटलाइफ रङ्गशालामा भएको घटनाको छानबिन गर्न अनुशासन तथा आचारसंहिता सम्बन्धी अभियोजक नियुक्त गरेको जनाएको छ ।

अनुसन्धानका आधारमा घटनामा संलग्न खेलाडी वा प्रशिक्षकमाथि निलम्बनको कारबाही हुन सक्नेछ भने अर्जेन्टिना फुटबल संघलाई जरिवाना पनि हुन सक्ने फिफाले जनाएको छ ।

विश्वकपको फाइनलमा स्पेनसँग १-० ले पराजित भएपछि अर्जेन्टिनाका केही खेलाडी र टोलीका पदाधिकारी स्पेनका खेलाडीहरू विजयोत्सव मनाइरहेका बेला झडपमा उत्रिएका थिए ।

उक्त घटनामा नाहुएल मोलिना, लिएन्ड्रो परेडेस, थियागो अल्माडा र सहायक प्रशिक्षक रोबर्टो आयाला संलग्न रहेको बताइएको छ । सुरुआतमा परेडेसले स्पेनका एरिक गार्सियाको घाँटी समातेपछि मुख्य रेफ्री स्लाभ्को भिन्चिचले रातो कार्ड देखाएको खबर सार्वजनिक भएको थियो । तर केही समयपछि उक्त रातो कार्डको अभिलेख हटाइएको थियो ।

फिफाले पनि खेलकै क्रममा परेडेसविरुद्ध कुनै अनुशासनात्मक कारबाही नगरिएको स्पष्ट पारेको छ । यसअघि अर्जेन्टिनाका एन्जो फर्नान्डेज अतिरिक्त समयमा दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए ।

यसैबीच, इंग्ल्यान्डलाई २-१ ले हराउँदै सेमिफाइनल जितेपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्यान्ड टापुमाथिको आफ्नो देशको दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेको विषयमा पनि फिफाले सम्भावित अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।


#विश्वकप फुटबल २०२६