नेपाल-बंगलादेश टी–२० सिरिज मार्चमा, बाढीपीडितप्रति समर्पित गरिने

  • Image नेप्लेज
  • ३१ भदौ २०८३, बुधवार
  • 54 पटक हेरिएको
नेपाल-बंगलादेश टी–२० सिरिज मार्चमा, बाढीपीडितप्रति समर्पित गरिने

काठमाडौं । नेपाल र बंगलादेशबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज आगामी मार्चमा हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) बीचको सहमतिअनुसार सिरिज २०२७ मार्च २६, २८ र ३० मा हुनेछ।

हालै नेपालमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सिरिजलाई बाढीपीडितप्रति समर्पित गरिने भएको छ।

क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिरिजमार्फत दिवंगतप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरिने उल्लेख छ।

सिरिजलाई नेपाल र बंगलादेशबीचको दीर्घकालीन क्रिकेट सहकार्यका रूपमा समेत अघि बढाइने भएको छ। बंगलादेशले नेपालको महिला क्रिकेट, उमेर समूहको विकास तथा नेपाल ‘ए’ टोलीका लागि द्विपक्षीय भ्रमण र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।