विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

  • Image नेप्लेज
  • ५ श्रावण २०८३, मङ्गलवार
  • 1470 पटक हेरिएको
विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय फुटबल टोलीलाई राजधानी म्याड्रिडमा लाखौँ समर्थकले भव्य स्वागत गरेका छन्।

फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप चुमेको स्पेनिस टोलीको स्वागतका लागि म्याड्रिडका सडकमा करिब २० लाख प्रशंसक ओर्लिएका थिए।

सोमबार म्याड्रिड आइपुगेका २६ खेलाडी र प्राविधिक टोलीले देशका राजा र प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री सान्चेजले टोलीको उत्कृष्ट खेलशैली, मिहिनेत र ऐतिहासिक जितका लागि धन्यवाद दिँदै सम्पूर्ण देशबासीले खेलको भरपूर आनन्द लिएको बताए।

प्रधानमन्त्रीको सरकारी निवासमा भेटघाटपछि खेलाडी ‘हामी च्याम्पियन हौँ’ लेखिएका जर्सी लगाएर खुला बसमा विजय र्‍यालीसहित नगरपरिक्रमामा निस्किएका थिए।

‘ताराहरू सँगै चम्किन्छन्’ भन्ने नारा लेखिएको बसमा सवार खेलाडीहरूले विश्वकप ट्रफी प्रदर्शन गर्दै हजारौँ समर्थकसँग खुसी साटासाट गरे। टोलीका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले अनुशासित र समर्पित समर्थकसामु देशको प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय भएको बताए।

र्‍याली म्याड्रिडको ऐतिहासिक सिबेलेस स्क्वायर पुगेर विशेष समारोहमा परिणत भएको थियो, जहाँ करिब १ लाख २० हजार मानिस उपस्थित थिए। सिबेलेस स्क्वायर म्याड्रिडका फुटबल समर्थकले उपाधि जितेपछि विजय उत्सव मनाउने परम्परागत थलो हो।

स्पेनलाई विश्व विजेता बनाउन अतिरिक्त समयमा फेरान टोरेसले निर्णायक गोल गरेका थिए। सन् २०१० पछि स्पेनको यो दोस्रो पुरुष विश्वकप उपाधि हो। यसअघि सन् २०२३ मा महिला विश्वकपसमेत जितेको स्पेन एकै समयमा पुरुष र महिला दुवैतर्फको विश्वकप ट्रफी कब्जा गर्ने पहिलो देश बनेको छ।

जितको खुसीयालीमा आइतबार रातिदेखि नै म्याड्रिडका चोक र गल्लीमा समर्थकले राष्ट्रिय झण्डा बोकेर नाचगान गरेका थिए। यद्यपि, म्याड्रिडबाट उत्तर-पश्चिममा पर्ने सालामान्कामा विजय उत्सव मनाउने क्रममा फाउन्टेन ढल्दा १३ वर्षीय एक किशोरको मृत्यु भएपछि उत्सव केही दुःखी बनेको छ।


#विश्वकप फुटबल २०२६