राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

  • Image नेप्लेज
  • १३ जेठ २०८२, मङ्गलवार
  • 4902 पटक हेरिएको
राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

नेपाल कुराँस सङ्घको आयोजनामा राष्ट्रिय कुराँस प्रतियोगिताको चौथो संस्करण यसै साता हुने भएको छ ।

यही जेठ १६ गते हुने एकदिने उक्त प्रतियोगिताको खेल नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष जीवन राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा सिनियर र जुनियर गरी विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जुनियर महिला-पुरुषमा २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी र ४५ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी सिनियर महिलातर्फ ४८ केजी, ५२ केजी, ६३ केजी र ६३ केजी माथि तौल समूहमा भिडन्त हुनेछ भने सिनियर पुरुषतर्फ ६० केजी, ६६ केजी ७३ केजी, ८१ केजी तथा ८१ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

करिब २२० जना खेलाडीले भाग लिने उक्त प्रतियोगितामा विभिन्न सात प्रदेश र त्रिभुवन आर्मी क्लब, ससस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लब गरी तीन विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

हरेक समूहका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीले क्रमशः रु तीन हजार, दुई हजार र एक हजार पुरस्कार प्राप्त गर्नेछन् । कुराँस एक प्रकारको मार्सल आर्टअन्तर्गतको खेल हो ।

यसमा दुई खेलाडीहरू विशेष कपडाबाट बनेको ड्रेस (ज्याकेट) लगाएर एक अर्कालाई समातेर ढाड टेकाएर फाल्ने प्रयास गर्छन ।